काठमाडौं । सिक्किमको गान्तोकमा भएको उसु प्रो फाइट नाइटमा नेपालका निश्चल तामाङले स्वर्ण जित्नुभएको छ । सिक्किमका राष्ट्रिय खेलाडीलाई पराजित गर्दै निश्चलले स्वर्ण जितेको टोलीका प्रशिक्षक राजीव महर्जनले जानकारी दिनुभएको छ । प्रशिक्षक महर्जनका अनुसार सिक्किमका मुख्यमन्त्रीले निश्चललाई गार्खाली युवा पदकसहित ५० हजार भारतीय रुपैयाँबाट पुरस्कृत गर्नुभयो । निश्चलले सिक्किमका मुख्यमन्त्रीबाट युवा खेलाडीको सम्मान पाउँदा हर्ष लागेको बताउँदै अझै खेल क्षेत्रमा लाग्न हौसला मिलेको बताउनुभयो ।
निश्चलसहित प्रतियोगितामा मार्सल आट्र्स अर्गनाइजेसन नेपालबाट पाँच खेलाडीले प्रतिस्पर्धा गरेका थिए । बाँकी चार खेलाडी मिलन राई, कमल आचार्य, मिलन तामाङ र विनोद श्रेष्ठ दोस्रो हुँदै जनही २०-२० हजार भारतीय रुपैयाँ नगद पुरस्कार पाएको टिम व्यवस्थापक किरण साउदले जानकारी दिनुभयो । प्रतियोगिता सिक्किम एमेच्योर उसु संघको आयोजनामा भएको हो ।
प्रशिक्षक महर्जनले गान्तोकस्थित डेन होम स्टेका सञ्चालक केलन तामाङको सहयोगप्रति आभार व्यक्त गर्दै सिक्किम एमेच्योर उसु संघ र मार्सल आर्ट अर्गनाइजेसन नेपालबीच उसु खेलको विकास र विस्तारका लागि सहमति भएको जानकारी गराउनुभयो ।




