काठमाडौं । श्रीभगवती क्लबले शहीद स्मारक ‘ब’ डिभिजन लिगमा नयाँबस्ती युथ क्लबमाथि सहज जित निकालेको छ । एन्फा मैदान सातदोबाटोमा आइतबार भएको खेलमा श्रीभगवतीले नयाँबस्तीलाई तीन-शून्य गोलले हराएको हो । एकपक्षीय जितमा श्रीभगवतीका लागि दिवस छन्त्यालले खेल सुरु भएको तेस्रो मिनेटमा गोल गर्नुभएको थियो ।
सबै गोल पहिलो हाफमा सम्भव भएको खेलमा अमित लामाले १६औँ र विक्रान्तनरसिंह रानाले ३०औँ मिनेटमा गोल गर्नुभएको थियो । जितसँगै दोस्रो स्थानमा रहेको श्रीभगवतीले सात खेलबाट १७ अंक बनाएको छ ।
एक खेल कम खेल्दै शीर्ष स्थानमा रहेको प्लानिङ ब्वाइजको १८ अंक छ । पराजित नयाँबस्तीको सात खेलबाट पाँच अंक छ । लिगमा ‘बी’ डिभिजनका १४ टोलीबीच भिडन्त भइरहेको छ ।
लिगको विजेताले १५ लाख रुपैयाँ, उपविजेताले १० लाख र तेस्रो हुनेले पाँच लाख रुपैयाँ पुरस्कार पाउने आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । यस्तै, ‘फेयर प्ले’ टोली र सर्वोत्कृष्ट खेलाडीलाई एक लाख तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।




