काठमाडौं । नेपालले दक्षिण एसियाली युथ टेबलटेनिस प्रतियोगिताको यू-१९ ब्वाइज टिम इभेन्टमा स्वर्ण जितेको छ । नेपालसहित श्रीलंका, बंगलादेश, पाकिस्तान र माल्दिभ्स गरी पाँच राष्ट्र सहभागी स्पर्धामा नेपालले सर्वाधिक सात अंक जोड्दै पहिलो भयो । नेपालबाट प्रवेश बस्नेत, गनञ्जय दाहाल, हिमाल विष्ट र रुविन महर्जनले प्रतिस्पर्धा गर्नुभएको थियो । बंगलादेश र पाकिस्तान तेस्रो भए ।
अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा भएको प्रतियोगिताको यू–१९ गल्र्स टिम इभेन्टमा भने नेपाल दोस्रो भयो । नेपालले सात अंक जोड्यो । नेपाली टोलीमा इभाना थापा, वियंका राई, योंगी पौडेल र दिया देउलाले खेल्नुभएको थियो । आठ अंकसाथ भारत पहिलो भयो । श्रीलंका र बंगलादेश तेस्रो बने । पाँचै राष्ट्र सहभागी यो स्पर्धामा माल्दिभ्स पनि थियो ।
यससँगै यू-१९ ब्वाइज/गल्र्स दुवै नेपाली टोली उज्वेकिस्तानमा हुने एसियाली जुनियर टेबलटेनिसमा छनोट भएको आयोजकले जनाएको छ । यू-१९ ब्वाइज/गल्र्सको टिम इभेन्टमा पहिलो र दोस्रो हुने टोली एसियाली जुनियर टेबलटेनिसका लागि छनोट हुने प्रावधान छ ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको यू-१५ ब्वाइज टिम इभेन्टमा प्रजिल भट्टराई, जयस्नु महर्जन, आर्यन शाही र रिजन शाक्य सम्मिलित नेपाली टोली दोस्रो भयो । भारत पहिलो तथा श्रीलंका र पाकिस्तान तेस्रो स्थानमा रहे । सोही स्पर्धाको गल्र्समा भारत पहिलो, श्रीलंका दोस्रो तथा नेपाल र माल्दिभ्स तेस्रो भए । नेपाली टोलीमा शुभश्री श्रेष्ठ, प्रजिना महर्जन, सुरम्य शाक्य र श्रृया शाक्यले खेल्नुभएको थियो ।




