काठमाडौं । नेपाल हक्की संघको आयोजनामा राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता हुने भएको छ । वैशाख १७ गतेदेखि पुरुष र वैशाख १८ गतेदेखि महिला प्रतियोगिता हुने आयोजकले जनाएको हो । ललितपुरको च्यासल फुटबल मैदानमा हुने प्रतियोगितामा तीन प्रदेशका टोली तथा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबको सहभागिता रहने जनाइएको छ ।
पुरुषतर्फ बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका टोलीले प्रतिस्पर्धा गर्नेछन् भने महिलातर्फ बागमती, गण्डकी, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका टोलीले प्रतिस्पर्धामा गर्नेछन् । लुम्बिनी प्रदेशले पहिलोपटक प्रतियोगितामा सहभागिता जनाउन लागेको संघले जनाएको छ ।
नेपाल हक्की संघका महासचिव सुवर्ण श्रेष्ठका अनुसार प्रतियोगिता सफल बनाउन संघका अनुसार खेलाडी, व्यवस्थापन, प्रशिक्षण तथा मैदान व्यवस्थापनलगायत सबै काम सम्पन्न भइसकेको छ । संघले आगामी दिनमा हुने अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धाका लागि यसै प्रतियोगितामार्फत् टिम तयार पार्नेछ । प्रतियोगिताको विजेताले ७५ हजार, उपविजेताले ५० हजार र तेस्रो हुने टिमले २५ हजार रुपैयाँ पाउनेछ ।




