काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को महिला विश्वकप टी-२० क्रिकेटको एसिया छनोट खेलको तालिका सार्वजनिक भएको छ । नेपाल समूह ‘सी’ मा रहेको छ । थाइल्याण्डमा हुने प्रतियोगितामा सो समूहमा नेपालसँग हङकङ चाइना र बहराइन छन् । तीनवटै टिमले एकअर्कासँग दुई-दुई खेल खेल्नेछन् ।
नेपालको पहिलो खेल २६ वैशाखमा हङकङ चाइनासँग हुनेछ भने दोस्रो खेल २७ वैशाखमा बहराइनसँग हुनेछ । तेस्रो खेल ३० वैशाखमा हङकङ चाइनासँग र समूहको अन्तिम खेल १ जेठमा बहराइनसँग हुनेछ । प्रतियोगिताबाट शीर्ष दुई टिम ग्लोबल क्वालिफायर्समा छनोट हुनेछन् ।
हाल भारतमा तयारी गरिरहेको नेपाली महिला क्रिकेट टोली उतैबाट थाइल्याण्ड प्रस्थान गर्नेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक मनोज कटुवाल भुटानमा लेभेल ३ कोचिङ कोर्स सकेर दिल्ली पुगी टिमसँग जोडिनुभएको छ । अर्काे प्रशिक्षकमा रिजन प्रजू हुनुहुन्छ भने भारतका मनिष झा कन्सल्ट्यान्ट कोच रहनुभएको छ ।




