काठमाडौं । उपत्यकाव्यापी अन्तरपालिका खुला मेयर कप फुटबल २०८२ अन्तर्गत बुधबार भएको खेलमा महालक्ष्मी नगरपालिकाले पहिलो जित दर्ता गरेको छ । च्यासल मैदानमा महालक्ष्मीले बागमती गाउँपालिकाविरुद्ध ५-१ को सहज जित निकाल्यो । जितसँगै समूह ‘ए’ को महालक्ष्मीले दुई खेलमा तीन अंक जोडेको छ । दुवै खेलमा पराजित बागमती भने प्रतियोगिताबाट बाहिरिएको छ ।
यसअघि महालक्ष्मी आयोजक गोदावरी नगरपालिकासँग ६-१ तथा बागमती ललितपुर महानगरपालिकासँग ७-३ ले पराजित भएको थियो । महालक्ष्मीलाई जित दिलाउन सिद्धान्त अधिकारीले दुई तथा रामकृष्ण चौधरी, अमृत चन्द र सनम धितालले समान एक गोल गर्नुभयो । बागमतीका लागि दिलिप घलानले गोल फर्काउनुभयो ।
खेलको ३६औँ मिनेटमा रामकृष्णको गोलमार्फत् महालक्ष्मीले अग्रता लिएको थियो । ४६औँ मिनेटमा अमृतले टोलीको अग्रता दोब्बर बनाउनुभयो । सनमले ६७औँ मिनेटमा गोल गर्दा महालक्ष्मीको अग्रता ३-० मा पुग्यो । सिद्धान्तले ७७औँ मिनेटमा पेनाल्टीमार्फत् टोलीका लागि चौथो गोल गर्नुभयो । दिलिपले ७९औँ मिनेटमा बागमतीका लागि गोल फर्काउनुभयो । इन्जुरी समयमा सिद्धान्तले व्यक्तिगत दोस्रो गोल गर्दा महालक्ष्मी ५-१ ले अगाडि बढ्यो । इन्जुरी समयमै आयुश लामा पेनाल्टीमा चुक्दै बागमतीले गोल अन्तर कम गर्ने सुनौलो अवसर गुमायो । उहाँको प्रहार बाहिरिएको थियो ।
प्रतियोगितामा काठमाडौं जिल्लाबाट काठमाडौं महानगरपालिका, चन्द्रगिरि नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका गरी ६ वटा स्थानीय तह प्रतिस्पर्धामा छन् । यस्तै, ललितपुर जिल्लाबाट ललितपुर महानगरपालिका, आयोजक गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, कोन्ज्योसोम गाउँपालिका र बागमती गाउँपालिकासहित पाँचवटा स्थानीय तह छन् । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका र मध्यपुर ठिमी नगरपालिका प्रतिस्पर्धामा छन् ।
सेमिफाइनलको पहिलो खेल समूह ‘ए’ को विजेता र समूह ‘सी’ को विजेताबीच हुनेछ । यस्तै, दोस्रो खेल समूह ‘बी’ र समूह ‘डी’ का बीच हुनेछ । सेमिफाइनल खेल ‘१’ का विजेता र सेमिफाइनल खेल ‘२’ का विजयीबीच फाइनल खेल हुनेछ । लगातार वर्षाका कारण पूर्वनिर्धारित तालिकामा खेल सञ्चालन हुन सकेको छैन । प्रतियोगिताको विजेता टिमलाई नगद पाँच लाख रुपैयाँसहित ट्रफी, उपविजेता टिमलाई नगद तीन लाख रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ ।




