काठमाडौं । नेपाल टेलिकमले नेपालको प्रसिद्ध एवं सुन्दर पदयात्रा गन्तव्यका रूपमा परिचित लाङटाङ–क्यान्जिन पदमार्गमा सो क्षेत्रका बासिन्दा तथा पर्यटकलाई लक्षित गरी फोरजी मोबाइल सेवा सञ्चालन गरेको छ । काठमाडौैदेखि सबैभन्दा नजिकको हिमाली पदमार्गका रूपमा चिनिने सो क्षेत्रमा नेपाल टेलिकमको फोरजी मोबाइल सेवाले पर्यटकलाई यात्राका दौरानमा सांस्कृतिक, प्राकृतिक र भौगोलिक विविधताको अनुभव आफ्ना प्रियजनसँग साटासाट गर्न सहयोग पुग्ने कम्पनीले जनाएको छ । समुन्द्री सतहबाट करिब ३८ सय मिटर उचाइमा रहेको क्यान्जिन उपत्यकामा नयाँ बिटिएस जडान गरेर कम्पनीले उक्त क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको हो ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका-४ मा पर्ने र स्याफ्रुबेंसीबाट लगभग दुई दिनको पैदलयात्रामा पुगिने मनमोहक पर्यटकीय स्थल क्यान्जिन उपत्यका स्वदेशी तथा विदेशी पर्यटकका लागि लोकप्रिय गन्तव्यस्थल हो । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने सो उपत्यकामा नेपाल टेलिकमको फोरजी सेवा विस्तारसँगै सो क्षेत्रका स्थानीय बासिन्दा, घुम्न आउने पर्यटक तथा यस भेगका पर्यटनलगायत अन्य व्यवसायीसमेत लाभान्वित हुने विश्वास कम्पनीको रहेको कम्पनीका सहप्रवक्ता नवीनकुमार मिश्रद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।




