काठमाडौं । “मानव तथा जीवमण्डल” जैविक विविधताको संरक्षण र दिगो उपयोगमा सामञ्जस्य ल्याउने उद्देश्यले गठित संस्था हो । जीवमण्डल आरक्ष एक जैविक प्रयोगशाला हो जहाँ एकिकृत रुपमा जमिन, जल, जैविक विविधता आदिको एकिकृत व्यवस्थापन, त्यसको परीक्षण र प्रदर्शन गरिन्छ । यहि २०८२ जेष्ठ १८ र १९ गते नेपालको मानव तथा जीवमण्डल विशेष समितिले नेपालमा जीवमण्डल आरक्ष घोषणा गराउने उद्देश्यले ‘जीवमण्डल आरक्ष र पर्यटन प्रवद्र्धन’ विषयमा दुई दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । मानव तथा जीवमण्डल विशेष समिति संयुक्त राष्ट्र संघको यूनेस्को अन्तर्गतको एक अन्तरसरकारी समिति हो । कार्यशाला गोष्ठीको उद्घाटन समितिका संयोजक प्रा.डा.उमेश कुमार मण्डलको अध्यक्षतामा भयो र उद्घाटन सत्रमा कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभाका माननीय सदस्य विजुला रायमाझीले संरक्षणविद्हरुले उठाएका कुरालाई सरकारले गम्भिरताका साथ लिनुपर्ने र त्यसको लागि आफूले प्रतिनिधि सभा र सभाको समितिमा कुरा उठाउने बताउनु भयो । वरिष्ठ संरक्षणविद् तथा वनस्पतिशास्त्री प्रा.डा. रामप्रसाद चौधरी, व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) का कार्यकारी निर्देशक प्रा.डा. मीना राजभण्डारी, पूर्व निर्देशक प्रा.डा. रामेश्वर अधिकारी, नेपाल सरकार यूनेस्को सचिवालयका सचिव डा. दिव्या दवाडी, यूनेस्को नेपालका प्रतिनिधि याको डूटोइतले सम्बोधन गर्नु भएको थियो । नेपालमा जीवमण्डल आरक्षको घोषणा हुनुपर्नेमा सबैले जोड दिनु भयो ।

उद्घाटन सत्रको सञ्चालन मानव तथा जीवमण्डल (म्याब) समितिका सदस्य डा.हरिप्रसाद अर्याल र स्वागत मन्तव्य अर्का सदस्य प्रा.डा. मोतीलाल शर्माले गर्नु भएको थियो । दुईदिने कार्यशाला गोष्ठीमा जम्मा चारवटा कार्यपत्रहरु प्रस्तुत गरिएका थिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, यूनेस्को राष्ट्रिय आयोगका सचिव डा. दिव्या दवाडी, मानव तथा जीवमण्डल (म्याब) का संयोजक प्रा.डा. उमेश कुमार मण्डल, संयुक्त राष्ट्रसंघ, यूनेस्को नेपालका प्रतिनिधि याको डूटोइत र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रतिनिधि डा. अम्बिका खतिवडाले विभिन्न शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्रहरुमा सहभागीहरुले खुला रुपले छलफलमा भाग लिनु भयो । कार्यक्रमको समापन समारोहमा म्याबका संयोजक प्रा.डा. उमेशकुमार मण्डलले सबैलाई साथमा लिएर आगामी दिनमा पनि निरन्तर अन्तरक्रिया गर्दै अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रमको सञ्चालन मानव तथा जीवमण्डल (म्याब) सदस्य प्रा.डा. मोतीलाल शर्माले गर्नु भएको थियो ।

यूनेस्को अन्तर्गत मानव तथा जीवमण्डल विशेष समितिको इतिहास झण्डै चार दशक पुरानो भएता पनि अहिले सम्म एउटै मात्र पनि जीवमण्डल आरक्ष घोषणा हुन नसक्नु चिन्ताको विषय हो । जीवमण्डल आरक्षबाट प्राकृतिक श्रोतको संरक्षण, मानवजीवनमा सदुपयोग र विकास, अध्ययन अनुसन्धान, तालिम, नियमन आदिका लाभहरु लिन सकिन्छ । नेपालका छिमेकी मुलुकहरुले जीवमण्डल आरक्ष घोषणा गरेर लाभ लिईरहँदा पनि हामीले अहिले सम्म घोषणा गर्न नसक्दा यसबाट हुने लाभबाट बञ्चित हुनु परेको छ । अब यो विषयलाई तत्काल सम्बोधन गर्न जरुरी देखिएको कुरा सहभागी तथा विज्ञहरुले बताउनु भयो ।





