काठमाडौं । आत्मनिर्भर मौरी व्यवसायी, सक्षम सुदृढ महासंघ, नेपाली मौरीजन्य उपजको संसारभर पहिचान भन्ने नाराका साथ काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि मह मेला सुरु भएको छ । मेला उद्घाटन गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले महमा गुणस्तर कायम गरे आयातित महले बजार खोस्न नसक्ने बताउनुभएको छ ।
खुला बजारमा सबैले प्रतिस्पर्धा गर्न पाउने भएकाले शुद्ध मह उत्पादनलाई पहिलो प्राथमिकता दिन जरुरी रहेको उहाँको भनाइ थियो । बैंक तथा वित्तीय संस्थालाई मौरी किसानमा पनि लगानी गर्न आग्रह गर्दै मन्त्री अधिकारीले मौरी पालकमा देखिएको चरन समस्या समाधान गर्न पहल गर्ने पनि बताउनुभयो । मौरी र महको प्रवद्र्धनका लागि सरकारबाट गर्न सकिने सबै सहयोग गर्न आफू तयार रहेको उहाँको भनाइ थियो । मह किसानलाई उत्पादनमा जोड दिन आग्रह गर्दै मन्त्री अधिकारीले बजार समस्या विस्तारै हट्दै जाने बताउनुभयो ।
सरकारलगायतका विभिन्न सरोकारवाला निकायसँगको सहकार्यमा नेपाल मौरीपालक किसान महासंघद्वारा आयोजित मेला शनिबारसम्म चल्ने बताइएको छ । हाल नेपालमा वार्षिक पाँच हजार मेट्रिक टनभन्दा बढी मह उत्पादन हुने गरेको व्यवसायीले बताएका छन् । हाल सरकारले मह आयातमा रोक लगाएको छ । जसबाट मह उत्पादन बढ्दै गएको छ भने नेपाली महको खपत पनि बढ्दै गएको छ ।(हिमालय टाईम्स)




