काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)सँगको मैत्रीपूर्ण खेलमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले गोलको वर्षा गरेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा मंगलबार सम्पन्न खेलमा एन्फा १०-२ ले विजयी भएको थियो ।
एन्फालाई जित दिलाउन महासचिव किरण राई र केन्द्रीय सदस्य टिका लामाले हृयाट्रिक गर्नुभएको थियो । यस्तै, पंकज शाही, विनोद डंगोल, जयोज नरसिंह श्रेष्ठ र राजेश शाहीले समान एक-एक गोल गर्नुभएको थियो । एनएसजेएफका लागि अनिश श्रेष्ठ र कार्यसमिति सदस्य अभिनव जोशीले गोल गर्नुभएको थियो ।
एन्फाको टोलीबाट अध्यक्ष पंकजविक्रम नेम्वाङ, राष्ट्रिय महिला फुटबल टोलीका सहायक प्रशिक्षक राजेन्द्र तामाङ, एन्फा एकेडेमी प्रमुख नवीन न्यौपानेलगायतका पदाधिकारी र पूर्वखेलाडीले खेलेका थिए ।
एनएसजेएफका तर्फबाट उपाध्यक्ष सञ्जीव शिल्पकार, कार्यसमिति सदस्य रमेश सुवेदी र कविरस शर्मा तथा साधारण सदस्यले खेलेका थिए ।(हिमालय टाईम्स)




