काठमाडौं । सुन तस्करी भन्ने विषय हाम्रालागी नौलो होईन । जो जसरी सरकारमा पुगे पनि तिनको मुख्य धन्दा सुन तस्करी नै हुने गरेको बुझ्न सकिन्छ । सधै समाचारमा आउने र जहिल्यै बिचमा हराउने यो जटिल मुद्दामा राज्य संचालकहरुको नै सिधा संलग्न रहेको पटक-पटक पुस्टी भएको छ । पछिल्लो पटक सुन तस्करी मुद्दामा फरार रहेकी रोल्पाकी अमला रोक्का पक्राउ परेकी छिन् । तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङकी पत्नीसमेत रहेकी रोक्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।
उनी टोखाबाट पक्राउ परेकी हुन् । ब्युरोका एसएसपी होबिन्द्र बोगटीले आइतबार उनलाई अदालत उपस्थित गराइने बताए । उनी ६१ केजी अवैध सुन तस्करीको मुद्दामा अनुसन्धान सुरु भएपछि फरार थिइन् ।
प्रहरीले अमला रोक्काविरुद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिससमेत जारी गरेको थियो । उनलाई फरार सूचीमा राखेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
सोही अनुसन्धानमा दावा छिरिङ र अन्यलाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो । उक्त मुद्दा अदालतमा विचाराधीन छ ।
अमला काठमाडौंको ठमेलस्थित होटेल भियनाकी सञ्चालक हुन् । उनी माओवादी केन्द्र निकट रोल्पा-काठमाडौं सम्पर्क मञ्चको पनि पूर्वउपाध्यक्ष हुन् । रोका तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनको घरमा देखिएकी उनी त्यसपछि फरार भएकी थिइन् । उनी भागेर भारत पुगेको बताइए पनि प्रहरीले पक्राउ गर्न सकेको थिएन । लामो समयपछी सुन तस्करी मुद्दामा फरार रहेकी रोल्पाकी अमला रोक्का पक्राउ परेकी छिन् भने राज्यले उनलाई गर्ने कारवाहीको सम्बन्धमा जनमानसमा निक्कै चासो बढेको छ ।(सामाजीक संजाल)




