जुम्ला । जुम्लाको मुटुमा रहेको प्रसिद्ध धार्मिक स्थल चन्दननाथ मन्दिरमा २०८२/३/१२ बिहीबार दिउँसो २:४० बजे अज्ञात व्यक्तिद्वारा दान पेटिका भित्रकाे रकम चोरी भएको छ ।
सिसि टिभी फुटेजमा हेर्दा अज्ञात व्यक्तिले दान पेटिका भित्रकाे रकम चोरी गरेको स्पष्ट देखिएको चन्दननाथ मन्दिरका नायब सुब्बा रत्नप्रसाद आचार्यले बताए। दान पेटिका भित्र रहेकाे अनुसार करिब १२ हजार रुपैयाँ चोरी भएको बताइएको हो। सुरक्षाकर्मी खाजा खान गएको मौका छोपेर चोरले दानपेटिका फोडेको हो।
उक्त मन्दिरमा चोरीका घटनाहरु बेला बेला भईरहने गर्दछन्। केही वर्षअघि मन्दिरबाट दत्तात्रयसहित अन्य बहुमूल्य मूर्तिहरू चोरी भएका थिए, तर ती चोरीका दोषीहरू अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्। मूर्ति चोरीको घटनाले मन्दिरको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको थियो र अहिलेको दानपेटिका चोरीले त्यही कमजोरीलाई पुनः उजागर गरेको छ।
दानपेटिका चोरीको घटनापछि स्थानीयवासी र भक्तजनहरू त्रसित भएका छन्। मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरूले चढाएको दान सुरक्षित नरहेको भन्दै मन्दिर व्यवस्थापन र प्रहरी प्रशासन प्रति स्थानिय बासिन्दा असन्तुष्टि व्यक्त गरेका छन्। चोरीमा संलग्न व्यक्तिको खोजी कार्य भईरहेकाे प्रहरीले दाबी गरेको छ। तर डिएसपी रविन बाबु रेग्मीले यो घटनाबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन्।
यस्तै जुम्ला सदरमुकामकाे बीच बजारमा कलात्मक गणेश मन्दिर निर्माण हुने भएकाे छ । जुम्लाकाे एक मात्र चन्दननाथ नगरपालिकाले मुख्य बजारमा कलात्मक गणेश मन्दिर निर्माण गर्ने भएकाे हाे ।
मन्दिर निर्माणका लागि विहिबार विहान नगर प्रमुख राजुसिंह कठायतले शिलान्यास गरेका छन् । २० लाख लगानीमा निर्माण हुने कलात्मक गणेश मन्दिर निर्माणकाे शिलान्यासमा नगर प्रमुख,राजु सिहं, नगर उपप्रमुख रामदेवी खड्का,प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढ्थापा लगायतकाे सहभागिता थियाे ।
ललितपुर महानगर पालिकाकाकाे २० लाख सहयाेगमा जुम्ला बजारमा कलात्मक गणेश मन्दिर निर्माण हुन लागेकाे चन्दननाथ नगरपालिकाका ईन्जिनियर लाेकेन्द्र महतले बताए ।
महतका अनुसार चन्दननाथ नगरपालिकाका र ललितपुर महानगर पालिकाका बीच भगिनि सम्बन्ध कायम रहेकाले ललितपुर महानगर पालिकाले आफ्नै क्षेत्रमा रहेकाे जस्तै कलात्मक मन्दिर जुम्लामा निर्माण गर्न सहयाेग प्रदान गरेकाे हाे ।
प्रसिद्व चन्दननाथ भैरबनाथ मन्दिरले प्रख्यात जुम्लामा धार्मिक पर्यटन प्रर्बद्वनमा गणेश मन्दिर निर्माणले थप टेवा पुराउने विश्वास गरिएकाे छ ।
पछिल्लाे समय चन्दननाथ नगरपालिकाले पर्यटन प्रर्बद्वनका लागि पूर्वाधार निर्माणमा जाेड दिएकाे छ । स्याउ उत्पादनकाे जिल्ला भनेर चिनिने जुम्लामाकाे वसपार्कमा स्याउ चाेक निर्माण समेत अन्तिम चरणमा पुगेकाे छ ।





