भक्तपुर । लायन्स क्लब अफ काठमाडौँ पूर्णताराले आफ्नो सिग्नेचर प्रोजेक्टको रूपमा सूर्यविनायक नगरपालिका–२, बालकोटमा सडक कुकुरहरूमा रेबीज विरुद्धको खोप अभियान सञ्चालन गरेको छ। २०८२ साल असार १५ गते आइतबार बिहान ७ बजेबाट सुरु भएको यो कार्यक्रम अन्तर्गत करिब ३०० वटा सडक कुकुरहरूमा रेबीज विरुद्धको खोप लगाउने लक्ष्य लिइएको छ।
उक्त कार्यक्रम सूर्यविनायक नगरपालिका वडा कार्यालय, नगरपालिका कार्यालय तथा नेपाल सरकार अन्तर्गतको पशु सेवा विभागको समन्वयमा सम्पन्न भइरहेको छ। अभियानमा लायन्स क्लबका सदस्यहरू, पशु चिकित्सक टोली, स्वयंसेवकहरू र स्थानीय समुदायको उत्साहजनक सहभागिता देखिएको छ।
कार्यक्रमको उद्घाटन अवसरमा वडाध्यक्ष प्रदीप कार्कीले स्थानीय तहमा जनस्वास्थ्य र पशु व्यवस्थापन दुवैलाई सन्तुलनमा राखेर काम गर्नुपर्ने आवश्यकतामाथि जोड दिएका थिए। उनले यस अभियानले समुदायमा नकारात्मक प्रभाव पार्ने जोखिम न्यूनीकरण गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्दै, वडा कार्यालय यस्ता सहकार्यमा निरन्तर साथ रहने प्रतिबद्धता जनाएका थिए।
पशु सेवा विभागबाट प्रतिनिधित्व गरेकी डा. मनीता सुवेदीले रेबीज उन्मूलन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै स्तरमा उच्च प्राथमिकताको विषय रहेको स्पष्ट पारिन्। उनका अनुसार, सन् २०३० भित्र कुकुरको टोकाइबाट हुने मानव रेबीज संक्रमण उन्मूलन गर्ने लक्ष्य पशु सेवा विभागको एक प्रमुख प्राथमिकता हो, जुन विश्वव्यापी ‘Zero by 2030’ अभियानसँग समन्वयमा रहेको छ। डा. सुवेदीले यस्तो लक्ष्य प्राप्तिका लागि सरकारी र निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै, रेबीज एक सय प्रतिशत रोकथाम गर्न सकिने रोग भएकाले खोप र जनचेतना विस्तार दुवैलाई सँगै अगाडि बढाउनु पर्ने बताइन्।
नगरपालिका कार्यालयतर्फबाट प्रतिनिधित्व गर्दै डा. मृणाल शाक्यले यस्ता कार्यक्रमहरूले स्थानीय सरकारको जनस्वास्थ्य र पशु व्यवस्थापन सम्बन्धी रणनीतिलाई सुदृढ बनाउने धारणा राखिन्। उनले सहकार्यमा आधारित यस्ता पहलहरू दीर्घकालीन प्रभाव पार्ने भएकाले नगरपालिकाले यसलाई नीतिगत प्राथमिकतामा राख्ने स्पष्ट पारिन्।
लायन्स क्लब अफ काठमाडौँ पूर्णताराका अध्यक्ष लायन प्रवेश खनालले यो कार्यक्रम क्लबको सिग्नेचर प्रोजेक्टको रूपमा सञ्चालन गरिएको जानकारी दिँदै, सडक कुकुरहरूको माध्यमबाट फैलिन सक्ने रेबीज संक्रमणलाई न्यूनीकरण गर्दै सह-अस्तित्वको सन्देश दिनु अभियानको उद्देश्य रहेको बताए। उनले यो पहल सामाजिक उत्तरदायित्वको भावनाबाट प्रेरित भई सुरु गरिएको उल्लेख गरे।
पूर्व अध्यक्ष लायन वेश राम पोखरेलले यस्ता कार्यक्रमहरूमा सबै क्षेत्रको सहभागिता आवश्यक रहेको भन्दै यो अभियान स्थानीय सरकार, सरकारी विभाग, र सामाजिक संस्था बीचको सफल सहकार्यको उदाहरण भएको बताए। कार्यक्रम अन्तर्गत खोप लगाइएका कुकुरहरूलाई चिन्ह लगाएर व्यवस्थापन गरिनेछ। प्रारम्भिक दिनहरूमा देखिएको सक्रियता र स्थानीय सहभागिता उत्साहजनक रहेको आयोजकहरूले जनाएका छन्।
कार्यक्रम अझै सञ्चालनमा रहेको र आगामी दिनहरूमा यस्ता कार्यक्रम अन्य वडाहरूमा पनि विस्तार गर्ने योजना लायन्स अफ काठमाडौँ पूर्णताराले अघि सारेको छ।




