काठमाडौं । सरकारले विभिन्न क्षेत्रका ३० व्यावसायिक कम्पनी तथा संस्थालाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिआइपी) सम्मान प्रदान गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदरप्रसाद भण्डारीले उक्त सम्मान प्रदान गर्नुभएको हो ।
सिआइपी प्राप्त गर्नेमा २१ व्यावसायिक फर्म तथा कम्पनी रहेका छन् भने निजी क्षेत्रका प्रतिनिधिमूलक नौ संस्थाले मानार्थ सिआइपी प्राप्त गरेका छन् । व्यवसायीका प्रतिनिधिमूलक संस्थातर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाललाई मानार्थ सिआइपी सम्मान प्रदान गरिएको छ । उल्लेखित संस्थालाई निर्यात व्यापारका साथै वाणिज्य क्षेत्रमा प्रवद्र्धनात्मक कार्य गरी आर्थिक विकासमा उल्लेख्य योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो ।
त्यस्तै, व्यवसायीका प्रतिनिधिमूलक महासंघतर्फ नेपाल हस्तकला महासंघ र निर्यात व्यवसायी महासंघका अध्यक्षलाई मानार्थ सिआइपी प्रदान गरिएको छ । त्यसबाहेक व्यवसायीका प्रतिनिधिमूलक वस्तुगत संघतर्फ नेपाल छुर्पी व्यवसायी संघ, झापा, नेपाल गलैंची उत्पादक तथा निकासीकर्ता संघ, नेपाल तयारी पोशाक उद्योग संघ र नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यात संघले मानार्थ सिआइपी सम्मान पाएका छन् । ती संघहरूलाई तेस्रो मुलुकतर्फ आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा कुल पाँच अर्ब वा सोभन्दा बढी निर्यात गरेका आधारमा उक्त सम्मान प्रदान गरिएको हो ।
त्यसैगरी तेस्रो मुलुकतर्फ सबैभन्दा बढी वस्तु निकासी गर्ने अग्रस्थानका पाँच वस्तुमध्ये प्रत्येकबाट एक–एक संस्थालाई सिआइपी सम्मान प्रदान गरिएको छ । जसअन्तर्गत ऊनी गलैंचातर्फ थर्ड आई इन्टरनेसनल, तयारी पोशाकतर्फ नेपाल फेशन प्रालि, ऊनी फेल्टका सामानतर्फ नेसनल एक्सपोट्र्स प्रालि, छुर्पीतर्फ मनराम हिमालयन हेण्डिक्राफ्ट प्रालि र पश्मिना वस्तुतर्फ ट्राइकोट इण्डष्ट्रिजले सिआइपी सम्मान प्राप्त गरेका छन् । भारततर्फ निकासी रकमका आधारमा सम्मान पाउनेमा डाबर नेपाल प्रालि, आरती स्ट्रिप्स र रिलायन्स स्पिनिङ मिल्स लिमिटेड र चीनतर्फको निकासी रकमका आधारमा छोमेन ट्रेडर्स, फिन्जो सोनाम इन्टरप्राइजेज र अष्ठमंगल काठमाडौंले सिआइपी सम्मान प्राप्त गरेका छन् ।
नेपालको मौलिक सीप, कला र संस्कृति झल्किने हस्तकला निर्यातबाट सबैभन्दा धेरै रकम भित्र्याउने निर्यातकर्तामा गिफ्ट ल्याण्ड इन्टरप्राइजेज प्रालिले पनि सिआइपी सम्मान पाएको छ । प्राथमिकतामा राखेका निर्यात सम्भावनायुक्त वस्तुमध्ये कृषिजन्य वस्तु सबैभन्दा बढी रकमको निर्यात गर्ने निर्यातकर्तामध्ये नेपाल एभरेष्ट कार्डमम प्रोडक्सन झापा र जडीबुटी क्षेत्रबाट एबी हर्बल ट्रेडर्स एण्ड सप्लायर्स दार्चुलाले उक्त सम्मान प्राप्त गरेका छन् । निर्यात व्यापारमा कुल रकमका आधारमा सबैभन्दा बढी रकमको निर्यात गर्ने महिला निर्यातकर्तामा जनकपुर रिफाइनरिज काठमाडौं र तेस्रो मुलुकतर्फ गत दुर्ई आर्थिक वर्षमा एक अर्ब वा सोभन्दा बढी निकासी गर्ने उद्योग, संस्था, फर्म वा कम्पनीमध्ये द सांग्रिला कार्पेट एण्ड हृयाण्डिक्राफ्ट, एभरेष्ट फेशन र त्रिवेणी स्पिनिङ मिल्स लिमिटेड र स्टार्टअपतर्फ माइण्डफुल क्राफ्ट प्रालि काठमाडौंले सिआइपी सम्मान प्राप्त गरेका छन् ।
त्यस्तै, बैंकिङ प्रणालीमार्फत् विप्रेषण कारोबार गरी सबैभन्दा बढी वैदेशिक मुद्रा भिœयाउने कम्पनीमा आइएमई लिमिटेड र पर्यटन क्षेत्रमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने होटल उद्योगी तथा व्यवसायीमा एभरेष्ट हस्पिटालिटी होटल लिमिटेडले सिआइपी सम्मान प्राप्त गरेका छन् ।
सो अवसरमा बोल्दै उद्योगमन्त्री भण्डारीले देशको समृद्धिका लागि निजी क्षेत्रसँगको सहकार्यलाई थप बलियो बनाइने बताउनुभयो । उहाँले सिआइपी सम्मानले उद्योगी व्यवसायीको मनोबल उच्च राख्दै निर्यात प्रवद्र्धनमा थप प्रभावकारी भूमिका खेल्ने बताउनुभयो । मन्त्री भण्डारीले भन्नुभयो, ‘यो सम्मानका लागि सम्मान होइन । हामी थप उदार भएर निजी क्षेत्रलाई सम्मान गर्न चाहन्छौं । निजी क्षेत्रको मनोबल उच्च नभएसम्म आर्थिक विकास र समृद्धि सम्भव छैन । त्यसैले हामी देशको समृद्धिका लागि सहकार्य गरेर अघि बढ्न चाहन्छौं ।’ नेपाल सन् २०२६ मा एलडिसी ग्र्याजुयसनमा जाने भएकाले सरकार र निजी क्षेत्र मिलेर आगामी दिनका लागि रणनीति बनाउनुपर्ने उहाँको भनाइ थियो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले नेपालको निर्यात वार्षिक करिब १० खर्ब पुर्याउन सकिने बताउनुभयो ।
उहाँले नेपालको निर्यात सम्भावना हेर्दा वार्षिक करिब १० खर्ब पुर्याउन र कुल गार्हस्थ्य उत्पादनको ०.२ प्रतिशतमात्रै रहेको विदेशी लगानी केही वर्षमै १० प्रतिशत पुर्याउन सकिने बताउनुभयो । अध्यक्ष ढकालले महासंघ र निजी क्षेत्रले शिथिल अर्थतन्त्रको विस्तार र नेपालमा लगानी प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम र नीतिगत पैरवी गरिरहेको र त्यसमा सरकारको भरपूर सहयोग रहेको भन्दै निजी क्षेत्रको विकास र विस्तारमा सरकारले निर्वाह गरिरहेको भूमिकाप्रति आभार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले लगानी सम्बद्ध कानुनहरूमा समस्या रहेको विषय उठायांै । सरकारले कानुनमा संशोधन गर्यो । द्विपक्षीय लगानी प्रवद्र्धनका लागि सम्झौता आवश्यक छ भन्यौं, त्यसको सरकारले खाका तयार पारेको छ । नयाँ चरणको आर्थिक सुधार आवश्यक रहेकाले सुधार आयोगको प्रस्ताव गर्यो । त्यसलाई सरकारले आत्मसात गरेकोमात्र नभई बजेट र मौद्रिक नीतिमा केही सुझाव समावेश पनि भएको छ । यी सबै कामका लागि म सरकारप्रति आभार व्यक्त गर्दछु ।’
महत्वपूर्ण व्यावसायिक व्यक्ति सिआइपी सम्मानले सम्मानित भएर व्यवसाय गर्न प्रोत्साहन गर्ने उल्लेख गर्दै अध्यक्ष ढकालले अन्तर्राष्ट्रिय अभ्यासअनुसार यसरी सम्मानित हुने व्यक्तिहरूलाई सरकार र समाजले निकै महत्व दिने गरेको बताउनुभयो । हरेक दुर्ई वर्षमा सिआइपी प्रदान गर्ने निश्चित मिति तोकेरै सिआइपी डे मनाउनुपर्ने उहाँको भनाइ थियो । अध्यक्ष ढकालले उल्लेखित सुधारसँगै नेपालको अर्थतन्त्रमा निजी क्षेत्रले निर्वाह गर्न सक्ने भूमिका र त्यसले अर्थतन्त्रको मुहार र आकार नै फेर्न सक्ने सम्भावना रहेको सिआइपीबाट सम्मानित हुने व्यक्तित्व र संस्थाबाटै पनि हेर्न सकिने धारणा राख्नुभएको थियो ।
सिआइपी सम्मानितहरू
चन्द्रप्रसाद ढकाल, राजेशकुमार अग्रवाल, कमलेशकुमार अग्रवाल, रवीन्द्र शाक्य, गोविन्दप्रसाद घिमिरे, हरकिरतसिंह वेदी, दिव्यराज सापकोटा, अक्षय गोल्याण, पासाङ शेर्पा, कर्माछोडुप गुरुङ, उर्गेन लामा, रेशमबहादुर पोखरेल, बलराम गुरुङ, पशुपतिदेव पाण्डे, नरेशलाल श्रेष्ठ, छेवाङ डण्डुल लामा, हरिप्रसाद भट्ट, चन्द्रबहादुर थापा, सुमनकुमार श्रेष्ठ, शक्तिकुमार गोल्याण, दोर्जे ग्याल्जेन लामा, महेश्वर श्रेष्ठ, रामचन्द्र संघई, कुबेर सापकोटा, पद्मरत्न धाख्वा, ओमकृष्ण विमली, जनकराज अवस्थी, रइसा टिवडेवाला, हेमराज ढकाल र गौरव अग्रवाल रहेका छन् ।(हिमालय टाईम्स)




