काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सवारी साधन आयात, उत्पादन तथा जडानसम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा यातायात व्यवस्था विभागको ध्यानाकर्षण गराएको छ । नाडाका अध्यक्ष करण चौधरी नेतृत्वको प्रतिनिधिमण्डलले यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलसँग भेट गरी विभागले ल्याउन लागेको सवारी साधन आयात उत्पादन तथा जडानसम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा विस्तृत छलफल गरेको छ ।
सो अवसरमा विशेषगरी सवारी आयात, उत्पादन र जडान, नेपालमा यातायात व्यवसायी महासंघको माग सम्बन्धमा विद्युत्तीय सवारी साधनको वारेन्टी, ग्यारेन्टी, अथराइज्ड सर्भिस सेन्टर, चार्जिङ स्टेसन व्यवस्था गरेरमात्र आयात गर्न पाउने, सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गर्ने, प्रयोग भएका ब्याट्रीको दीर्घकालीन व्यवस्थापन, डुप्लिकेट सर्टिफिकेसन, डकुमेन्टेसन, छाप र लोगो प्रयोग, मोटर क्षमता र सिट संख्यामा भएको विवाद, भन्सार महसुल निर्धारणका लागि आधारहरूको सिफारिस, ट्याक्सीमा प्रयोग हुने सवारी साधनहरू व्यक्तिगत सवारीभन्दा महँगो भएको ट्याक्सी व्यवसायीको गुनासो र आयात हुने सवारीमा जिपिएस अनिवार्यलगायतका विषयहरूमा छलफल भएको नाडाले जनाएको छ । नाडाका अध्यक्ष चौधरीले निर्देशिकाको विषयमा बुँदागत छलफल गरिनुपर्ने बताउनुभएको थियो ।
बैठकमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले निर्देशिकामा रहेका केही बुँदाहरू नेपालका सन्दर्भमा व्यावहारिक बनाउनुपर्ने र कतिपय जटिल विषयमा थप छलफलको आवश्यकता रहेको बताउनुभएको थियो । विभागका महानिर्देशक पोखरेलले सवारी साधन आयात उत्पादन तथा जडानका सम्बन्धमा नेपालमा कुनै स्पष्ट नीति नियम नभएका सन्दर्भमा निर्देशिका ल्याउन लागेको भन्दै निर्देशिकाका लागि विभिन्न चरणमा छलफल गरिने जानकारी गराउनुभएको थियो । उहाँले सरकारले व्यवसायीहरूका लागि विभिन्न व्यवधानहरू सिर्जना गर्ने गरेको आमबुझाइ रहेको भए पनि अब सरकार व्यवसायीको परिपूरकका रूपमा उभिने भन्दै देशको आर्थिक विकासमा निजी क्षेत्रको ठूलो भूमिका हुने बताउनुभएको नाडाले जनाएको छ ।
विभागसँग मिलेर नाडाले सवारी साधनका लागि टेष्टिङ फेसिलिटी व्यवस्था गर्न सकिने सम्बन्धमा महानिर्देशक पोखरेलले मुख्यतः तीनवटा विषयमा नाडासँग सहकार्य गरेर अघि बढ्न सकिने बताउनुभएको थियो । सो अवसरमा विभागका प्राविधिक निर्देशक श्रीकान्त यादवले नेपालमा सवारी साधन आयातसम्बन्धी व्यवस्थाबारे विस्तृत रूपमा जानकारी गराउनुभएको थियो । छलफलमा नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्यसमिति सदस्य यमुना श्रेष्ठ तथा एसोसिएसन सचिव सुरेन्द्र प्रधानसमेतको उपस्थिति रहेको थियो ।(हिमालय टाईम्स)




