काठमाडौं । हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाको दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नयाँ यज्ञोपवीत र रक्षाबन्धन धारण गरेर मनाइँदै छ।
जनैपूर्णिमा विशेष
रक्षावन्धन तथा रक्षासूत्र वैदिक तथा पौराणिक मन्त्रहरु द्वारा अभिमन्त्रित गरिन्छ र यस मन्त्रद्वारा दायांहातमा बांध्ने काम हुन्छ मन्त्र-
येन बद्धो वलि राजा दानवेन्द्रो महाबल:।
तेन त्वाम्प्रति बध्नामि रक्छ्य मा चल मा चल।।
अर्थात् जसरी सत्य युगमा दानवहरुद्वारा लखेटिएका देवताहरुलाइ वचाउन देबगुरु बृहस्पतिले रक्षाविधान गरेको रक्षासूत्र धागो देवताहरुलाइ वांधिदिनाले दानवहरुवाट देवताहरु सुरक्षित भएका थए ,अथवा जसरी अत्यन्त वलशाली दानवराजा वलीलाइ वामन अवतारमा भगवानले यै रक्षा सूत्रले वाध्नुभए पछि स्वर्गवासी देवताहरु असुरहरुको आक्रमण वाट वच्न सफल भएका थिए तेसै गरी म तिमीलाइ यै वैदिक मन्त्र द्वारा मन्त्रणा गरिएको रक्षा सूत्र बाध्दछु जसले तपाइलाइ सवै अशुभ कुराहरु वाट सुरक्षा प्रदान गर्नेछ र कहीं कतै वाट भय र त्रास हुनेछैन विचलित नहुनु होस ।
ध्यान दिनु पर्ने कुरा-
यज्ञोपवीत धारण गर्ने जो सुकै व्यक्तिले पनि जुनसुकै शुभकर्म गर्दा शिरमा शिखा वाध्नु पर्छ न भए कुशको शिखा वनाइ राख्नु पर्छ। स्नान मन्त्र-
स्नाने दाने जपे होमे सन्ध्यायां देवतार्चने।
शिखाग्रन्थिं विना कर्म न कुर्याद्वै कदाचन।।
शिखा वांध्ने मन्त्र-
चिद्रूपिणि!महामये? दिव्य जेज:समन्विते।
तिष्ठ देवि?शिखामध्ये तेजो वृद्धि कुरुष्वमे?
यो मन्त्र पढ्दै शिखामा दायाँ हातले स्पर्श गर्दै मनमनै भन्नू पर्छ – हे अन्तर्यामि दिव्यतेजवाली देवमाता गायत्री? तपाईं मेरा शिखामा वसेर मेरो आयु वल ओज तेजलाई वढाउनुहोस।
टाउकोको जुनठाउंमा टुप्पी राखिन्छ त्यो मस्तिष्कको मुख्य केन्द्रहो। यसै मुनि योगिहरुले कल्पना गरेको सहस्रार चक्र रहेको छ। जस द्वारा शरीर र मनका सम्पूर्ण वृत्तिहरुको नियन्त्रण हुन्छ।यही ब्रह्मरन्ध्र पनि रहेकोछ। यो ठाउँ मानिसका मूलभूत शक्ति शक्तिहरु विवेक,दृढता, दूरदर्शिता,प्रेम र संयम शक्तिको पनि केन्द्रहो। कतिपय योग साधकहरु यश केन्द्रलाइ आत्मत्वको वासस्थान मानेर यश चक्रमा ध्यान केन्द्रित गर्दा आत्म तत्वको वोध हुन्छ भन्ने गर्छन्। आफ्नो कल्याण चाहने व्यक्तिहरुले यति महत्व पूर्ण केन्द्रको सुरक्षा गर्नु र यश केन्द्रलाइ शक्तशाली वनाउनु नितान्त जरुरी हुन्छ। टुप्पी यश चक्रको वाह्य सुरक्षा कवचहो। कुनै निश्चित रेडियो वा टिभी स्टेसन वाट प्रक्षेपित रेडियो वा टिभीका श्रव्य दृश्यका तरङ्गलाइ एन्टेना मार्फत घरघरमा रहेका रेडियो टिभीले समातेर प्रसारण गरेझैं ब्रह्माण्डको केन्द्रवाट प्रक्षेपण गरिएका ईश्वरीय प्रेरणा वा विविध भाव तरङ्गहरुलाइ विभिन्न योगध्यान चिन्तन मनन निधिध्यासन प्रणव जाप,आदि विभिन्न ध्यान मनन क्रियाहरुका माध्यम वाट मानिसको मस्तिष्कले समात्छ,ग्रहण गर्छ।त्यस ठाउंमा अझ लामा लामा रौहरु वा टुप्पी भए मस्तिष्कलाइ त्यो कार्य गर्न अझ सजिलो हुन्छ । टुप्पी वा शिखाका माध्यमवाट मस्तिष्कलाइ ईश्वरीय प्रेरणा मनोवल दिव्य आत्मिक शक्तिलाई ग्रहण गर्न सरल हुन्छ भन्ने सूक्ष्म वैज्ञानिक तथ्यकै आधारमा हाम्रा ऋषिमुनीहरुले शिरमा जटा राख्ने गर्नु भएकोहो र टुप्पी तेसैको प्रतीकहो। अन्तरिक्ष वाट टुप्पी मार्फत प्राप्त हुने सकारात्मक उर्जा स्पन्दन वा तरङ्गहरु तत्कालै त्यहांवाट फर्किएर फेरि वाहिरै नजाउन् भन्ने उद्देश्यले टुप्पीमा शिखा वाध्नेहो। पौराणिक कथनानुसार शिखाक्षेत्रमा समग्र देवी देवता तथा तीर्थहरुको वास हुने हुनले शरीरको यो स्थान पवित्र मानिन्छ।तेसैले कुनेै शुभ कर्महरु गर्दा न्यास गर्दा वा सङ्कल्प गर्दा शीखालाई छुने गरिन्छ।
शरीर विज्ञान अनुसार शरीर भरि फैलिएका सम्पूर्ण नाडीहरुलाई नियन्त्रण गर्ने सुषुम्ना नाडीको केन्द्र पनि यही शिखाक्षेत्रनै भएकोले संसारका प्राय:सवै साधना संस्कृतिमा यश क्षेत्रलाइ वुद्धिको केन्द्र मानेर उच्च महत्व दिइएकोछ।त्यसकारण त्यस भागमा टुप्पी राख्नुको अर्थ त्यो भागलाइ सुरक्षा दिनुहो।
गायत्री माताको प्रार्थना गरि निम्न मन्त्र द्वारा प्राणायाम तथा ब्रह्म गायत्रीको यथा शक्ति जप गरिन्छ गायत्री मन्त्र –
ॐभू: ॐभुव:ॐस्व: ॐ मह: ॐ जन: ॐतप: ॐ सत्यम्।
ॐ भूर्भुवस्व तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि। धियो यो न: प्रचोदयात्।।
ॐ आपो ज्योति रसो$मृतं ब्रह्म भूर्भुव:स्वरोम्।।
अर्थात् तीसर्व शक्तिमान ईश्वरको ध्यान गर्दछौं,जसले यो संसारलाइ उत्पन्न गर्नु भएकोछ,जो पूजनीय हुनु हुन्छ,ज्ञानका भण्डार हुनु हुन्छ ,जो पाप तथा अज्ञानका नशक हुनुहुन्छ वहांले हाम्रो अज्ञान अन्धकार हटाइ ज्ञानको ज्योति प्रदिप्त गराइ प्रकाशमय सन्मार्ग तिर डोर्याउनु हुन्छ।
यज्ञोपवित धारण गर्नु पर्ने आवश्यकता
उपनयन (ब्रतबन्ध)को समयमा पिता तथा आचार्य द्वारा उपनयन संस्कार गरि जुन यज्ञोपवित धारण गर्न लगाइन्छ त्यो यज्ञोपवित ब्रह्मचर्य,गार्हस्थ तथा वानस्प्रस्थ यी तिनै आश्रममा अनिवार्यत अखण्डरुपमा धारण गर्नु पर्छ भन्ने शाश्त्रोक्त विधानछ। किन्तु उक्त यज्ञोपवित अवस्था विशेषमा वदलेर नवीन यज्ञोपवित धारण गर्नु पर्छ।
पूर्णिमाको दिन बिहानदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गएर स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्। तागाधारीले गुरु पुरोहितले मन्त्रिएको यज्ञोपवीत र डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा हुने धार्मिक विश्वास छ।
सत्ययुगमा दानवले लखेटेका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरेर बलशाली दानवराज बलीलाई बाँधेका थिए। त्यसैले ‘म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहो’ भन्दै डोरो बाँधेर जोगाएको पौराणिक मान्यताका आधारमा रक्षाबन्धनको परम्परा चलेको छ।
यसैले रक्षाबन्धन बाँध्ने बेला गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भन्दै रक्षासूत्र, रक्षाबन्धन वा डोरो बाँध्ने वैदिक परम्परा छ। मानव रक्षाका लागि जप, तप र पूजा गरेर मन्त्रिएको रक्षाबन्धन वा डोरो वैदिक परम्पराको मन्त्रोच्चारणसहित ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिन्छन्।
तागाधारीले यज्ञोपवीत धारण गर्दै
आजको दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने शास्त्रीय विधान छ। यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरेर एक छाकमात्र खाएर चोखोनीतो बसेर व्रत बसिन्छ। व्रत बसेका तागाधारीले पूर्णिमाको दिन बिहान पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गएर गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्छन्। यसलाई श्रावणी स्नान पनि भनिन्छ।
स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण गरेर वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ। अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा र तर्पण गर्ने भएकाले यो दिनलाई ऋषितर्पणी पनि भनिन्छ।
वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत वा जनैलाई ब्रह्मसूत्र वा ज्ञानको धागो पनि भनिन्छ। रक्षाबन्धन बाँध्न र नयाँ जनै फेर्न बिहानदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरको अशोकविनायक, वाग्मती नदीको किनार र काठमाडौँ उपत्यकालगायत देशभरका मठमन्दिरमा भक्तजनको भीड लाग्छ।
क्वाँटीको परम्परा
जनै पूर्णिमाको दिन एघार थरिका गेडागुडी मिसाएर भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ। क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायाममा खेतीपाती गर्दा शरीरमा लागेको चिसो निकालेर तापको सञ्चार हुने धार्मिक र आयुर्वेद शास्त्रीय मान्यता छ।
विभिन्न गेडागुडी मिसाएर बनाइएको क्वाँटीको रस खाएमा रोग प्रतिरोधी क्षमता बढ्ने आयुर्वेद चिकित्सक डा वंशदीप शर्मा खरेल बताउँछन्। यसले चिसोले लाग्ने रुघाखोकीजस्ता रोग पनि निको हुने उनले बताए।
तराईमा राखी बाँधिँदै
नेपालको तराईमा आजको दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाइन्छ। यसले दिदीबहिनी र दाजुभाइबीच प्रेमसम्बन्ध बढ्ने सामाजिक मान्यता छ। यो परम्परा पहाडी क्षेत्रमा पनि बढ्दै छ।
काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु र नवलपरासीको त्रिवेणीधामलगायत ताल, पोखरी र कुण्डमा आज बिहानदेखि मेला लाग्छ।




