मासिक राशिफल: भदाै, २०८२
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष – Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मेष राशिलाई भदाै महिना आंशिक फलदायी रहनेछ। विभिन्न अवसर प्राप्त हुनेछन् तर उपलब्धिका लागि निकै मेहनत गर्नुपर्नेछ। सन्तुलित खानपान र विश्राममा पनि ध्यान पुर्याउनुहोला। परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू प्रशस्त फेला पर्नेछन्। गुरुजनको प्रेरणाले हौसला र उपलब्धि प्राप्त हुनेछ। परोपकारी कामले सामाजिक प्रतिष्ठा दिलाउनेछ। कृषि र पशुपालनबाट लाभ उठाउन सकिनेछ। सवारीलगायत भौतिक साधन जुटाउने समय छ। घरमा सुख–समृद्धि बढ्नेछ। अध्ययन र लेखनमा रुचि बढ्नेछ। मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ। आम्दानी बढ्नाले पुरानो कर्जा घटाउन सकिनेछ। सोख र विलासको चाहना बढ्नेछ। बीचमा केही स्वास्थ्य समस्या पनि आउन सक्छन्। आयस्रोत सबल देखिए पनि आम्दानी र खर्चको सन्तुलन मिलाउने प्रयास गर्नुहोला।
वृष – Taurus
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
वृष राशिलाई भदाै महिना केही उतारचढावमय रहनेछ। परिवारजनमा असमझदारी र घरमा केही अशान्ति बढ्ने समय छ। सरोकार नभएका विषयमा चासो राख्ने बानीले व्यर्थैमा झमेला निम्त्याउनेछ। आफ्नाे याेगदान भन्दा कमजाेरीकाे चर्चा हुन सक्छ। पदीय जिम्मेवारी र कार्यक्षमतामाथि समेत प्रश्न उठ्न सक्छ। निजी काम रोकेर जिम्मेवारी पूरा गर्न समय छुट्याउनुहाेला। पेसा–व्यवसायमा नयाँ योजना थाल्न समस्या पर्नेछ। सहकार्य गर्दै आएका साझेदार समेत टाढिन सक्छन्। सगोलको सम्पत्तिमा भागबन्डा लाग्ने सम्भावना छ। नयाँ काम गर्न केही समय प्रतीक्षा गर्दा राम्रो हुनेछ। नियमित कामलाई सन्तुलित बनाइराख्ने प्रयास गर्नुहाेला। अध्ययनमा धेरै उपलब्धि नभए पनि पहिलेको साख र उपलब्धि जोगाउन सकिनेछ, मेहनत गर्नुहोला। नियमित कामबाट लाभ भइरहनेछ।
मिथुन – Gemini
का, कि, कु, घ, ङ, छ, के, को, ह
मिथुन राशिलाई भदाै महिना निकै उत्साहवर्द्धक रहनेछ। प्रतिष्ठित व्यक्तिहरू सहयोगीका रूपमा देखापर्नेछन्। बल, पराक्रम बढ्नाले चुनौतीका पहाड चिर्ने आँट जाग्नेछ। स्रोत–साधन जुट्नाले महत्त्वाकांक्षी काम थालनी गर्न सकिनेछ। रोकिएका काम सम्पादन हुनेछन्। उद्योग–धन्दा र व्यापारमा विशेष सफलता मिल्नेछ। नोकरी तथा राजनीति गर्नेहरूलाई पनि पद–प्रतिष्ठा प्राप्त हुने समय छ। घरमा सुख–समृद्धि बढ्नेछ। भूमिलगायत स्थायी सम्पत्ति अभिवृद्धि हुने सम्भावना छ। दाजुभाइमा भने केही असमझदारी बढ्न सक्छ। साझेदारी तथा सगोलको सम्पत्तिमा विवाद आउने हुँदा सामूहिक माहोल बिग्रन सक्छ। आफ्नो उपलब्धिमा पनि अरूले दाबी गर्ने सम्भावना रहेकाले सावधान रहनुहोला। प्रतिस्पर्धीहरू जाग्नेछन्। सुरुमा समस्या परे पनि शत्रु र रोगबाट छुटकारा पाइनेछ।
कर्कट – Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कर्कट राशिलाई भदाै महिनामा केही चुनौती देखिए पनि उपलब्धि प्राप्त गर्न सफल भइनेछ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। आशा देखाउनेहरूले प्रतिज्ञा पूरा नगर्न सक्छन्। केही धनमाल हराउने वा ठगीमा परिने ग्रहयोग देखिएकाले लेनदेनमा विशेष सावधानी अपनाउनुहोला। काममा चुनौती देखिए पनि आशा गरिएको फल भने प्राप्त हुनेछ। तर बलजफ्ती प्रयास गर्दा केही हानि पनि बेहोर्नुपर्ला। विलासी वस्तुका लागि धन खर्च हुनेछ। पढाइ, लेखन, संगीत र कलातर्फ आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर जुट्नेछ। मिहिनेतअनुसार प्रशंसा, पुरस्कार आदि पाइनेछ। धनको सञ्चिति पनि बढ्नेछ। मूल्यवान् गहना, उपकरण आदि संग्रह गर्ने समय छ। व्यापार–व्यवसायमा लाभ हुनेछ। शुभचिन्तकहरूको सुझावलाई पनि ध्यान दिनुहोला। महिनाको अन्त्यमा व्यवधान हट्नेछ।
सिंह – Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सिंह राशिलाई भदाै महिनामा केही समस्यासँग जुध्नुपर्ला। आफ्नै महत्त्वाकांक्षाले समस्या निम्त्याउन सक्छ। अप्ठ्यारा काममा हात हाल्नाले समस्याबाट बाहिरिन पनि समय लाग्नेछ। प्रतिष्ठाको भ्रममा पर्नाले व्यर्थैमा श्रम, समय र धन खर्च हुनेछ। बोलीको लयमा कठोरताको आभास हुनाले सहयोगीहरू जिम्मेवारीबाट पन्छिन सक्छन्। सानो काममा लामो समय बित्नेछ र श्रमको तुलनामा न्यून प्रतिफल प्राप्त हुनेछ। वादविवादको योग देखिएकाले धैर्य एवं सुझबुझका साथ काममा जुट्नुहोला। परिस्थिति अनुकूल बनाउन व्यवहारमा सुधार ल्याउनुपर्नेछ। प्रयत्न गर्दा व्यवसायमा सुधारका लक्षण पनि देखिनेछन्। पेसागत जिम्मेवारी बढ्नेछ। अध्ययन र लेखनमा जुट्नेहरूलाई सफलता प्राप्त हुनेछ। विदेश ताक्नेहरूलाई यात्राको साइत जुर्न सक्छ। मनपर्ने वस्तु उपहारस्वरूप प्राप्त हुनेछन्।
कन्या – Virgo
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
कन्या राशिलाई भदाै महिना केही संघर्षमय रहनेछ। सानो कमजोरीले आर्थिक व्यवस्थापान असन्तुलित बन्न सक्छ। अनावश्यक किनमेलमा सञ्चित रकम खर्च हुनेछ भने लगानी तथा सरसापटमा गएको रकम अड्किनाले व्यवहारमा अर्थअभाव देखापर्ने सम्भावना छ। आशा देखाउनेहरूले झुक्याउन सक्छन्। परिस्थिति अनुकूल नभएसम्म नयाँ योजना अघि नबढाउनुहोला। समस्या पर्दा सहयोगीहरू कमै भेटिनेछन्। कर्मक्षेत्रमा धेरै मिहिनेत र दौडधुप गर्नुपर्ने समय छ। उधारो व्यापार गर्नुपर्ला। अधिक कर्जा लिएर जोखिम निम्त्याउनु भन्दा क्षति हुनबाट जोगिने प्रयास गर्नुहोला। प्रतिज्ञा पूरा नगरे पनि आफन्तसँग नम्र व्यवहार गर्नुहोला। महिनाको उत्तरार्ध लागेपछि स्थितिमा सुधार आउनेछ। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने साइत जुर्न सक्छ। पछिका लागि लगानी गर्न सकिनेछ।
तुला – Libra
र, रि, रु, रे, रो, ता, ति, तु, ते
तुला राशिलाई भदाै महिना फलदायी रहनेछ। रोकिएका कामले गति लिनुका साथै आयस्रोत सबल बन्नेछन्। व्यापार बढ्नेछ, चिताएको काम बन्नेछ र व्यवसायले उचाइको मार्ग अवलम्बन गर्नेछ। कृषि र पशुधनबाट यथेष्ट लाभ मिल्नेछ। नोकरीतर्फ नयाँ अवसर प्राप्त हुने समय छ। मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। सेयर तथा साझेदारीमा मनग्य फाइदा हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। विदेश ताक्नेहरूका लागि यात्राको प्रक्रियामा अधिक खर्च हुने सम्भावना छ। प्रमाणबिना दिएको नगद र उधारो व्यापारले वादविवाद निम्त्याउन सक्छ। भौतिक साधनमा पनि क्षति पुग्न सक्छ। पछिल्ला दिनमा आयस्रोत कमजोर हुनेछ, सुरुदेखि नै आर्जित धन र उपलब्धि जोगाउने प्रयास गर्नुहोला।
वृश्चिक – Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
वृश्चिक राशिलाई भदाै महिनामा विशेष काम गर्ने अवसर जुट्नेछ। रोकिएका काम पुनः प्रारम्भ हुनेछन्। समुदायको प्रतिनिधिका रूपमा काम गर्ने सौभाग्य प्राप्त हुनेछ। नियमित प्रयासले कर्मसिद्धि हुनेछ। परोपकारी कामले सामाजिक प्रतिष्ठा दिलाउन सक्छ। सामाजिक अभियानको नेतृत्व लिन सकिनेछ। विशिष्ट व्यक्तिहरू नजिकिनेछन्। नयाँ जिम्मेवारी प्राप्त हुने समय छ। मिहिनेत गर्दा नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थान प्राप्त हुने बलियो सम्भावना छ। लगानी परे पनि दिगो काम, व्यवसाय आदिको पूर्वाधार तयार हुनेछ। विद्यार्थीहरूको अध्ययन र लेखनमा प्रगति हुनेछ। विदेशमा अवसर खोज्नेहरूलाई पनि यात्राको साइत जुर्न सक्छ। कृषि तथा पेसा–व्यवसायमा जुट्नेहरूलाई मनग्य फाइदा लिने समय छ। सामान्य उपलब्धिलाई गुणात्मक बनाउने प्रयास गर्नुहोला।
धनु – Sagittarius
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
धनु राशिलाई भदाै महिना सामान्य फलदायी रहनेछ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि दिगो काम प्रारम्भ गर्न सकिनेछ। चुनौती देखिए पनि बुद्धिको उपयोगले समस्या सुल्झाउन सकिनेछ। तर, अत्यधिक परिश्रमले थकान र कमजोरी भने निम्त्याउन सक्छ। सरोकार नभएका विषयमा चासो राख्नाले वादविवादमा परिएला। परिस्थिति र आवश्यकता कर्मयोगका प्रेरक बन्नेछन्। लगनशीलताले बिस्तारै लक्ष्यमा पुर्याउनेछ। सुरुमा अरूका काममा समय खर्चनुपरे पनि कालान्तरमा फाइदा हुनेछ। नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ। धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ। बन्धुबान्धव तथा गुरुजनसँग आत्मीयता बढ्नेछ। वादविवाद पनि सम्झौतामा टुंगिनेछ। आफ्नो अभियानमा शुभचिन्तकहरूले साथ दिनेछन्। धेरै फाइदा नभए पनि पछिका लागि काम गर्ने समय छ।
मकर – Capricorn
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मकर राशिलाई समय–परिस्थिति अनुकूल नहुनाले भदाै महिनाभरि बाधा–व्यवधान आइरहनेछन्। सानो काममा अधिक रकम र श्रम खर्च गर्नुपर्ने देखिन्छ। तापनि चिताएको उपलब्धि प्राप्त नहुन सक्छ। शरीरमा थकान र कमजोरी अनुभूति हुनेछ। बलजफ्ती प्रयास गर्दा काम बिग्रने र खर्च बढ्ने सम्भावना छ। सामान्य व्यापार भए पनि फाइदा कममात्र हुनेछ। परिस्थितिवश निर्वाहमूलक व्यवसाय गर्न बाध्य भइनेछ। आफ्नो उपलब्धिमा अरूले दाबी गर्न सक्छन्, लेनदेन तथा आर्थिक कारोबारमा विशेष सावधान रहनुहोला। अध्ययनमा सफलताको सिढी उक्लन समय लाग्नेछ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने समय छ। स्वास्थ्यका लागि आराम र खानपानमा विशेष ध्यान दिनुहोला। नयाँ काम गर्न नसकिए पनि पहिलेको उपलब्धि जोगाउन सकिनेछ, सावधानपूर्वक प्रयत्न गर्नुहोला।
कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
कुम्भ राशिलाई भदाै महिना केही उतारचढावमय रहनेछ। कर्ममा विश्वास गर्नेहरूलाई समेत परिस्थिति केही असहज रहनेछ। घरको समस्याले आर्थिक पक्ष प्रभावित बन्ने सम्भावना छ। किनमेल, यात्रा र भेटघाटले महिना केही खर्चिलो रहनेछ। वादविवादले पारिवारिक माहोल अशान्त बन्न सक्छ। नोकरी तथा व्यवसायमा केही झमेला आउन सक्छन्। व्यापारतर्फ सुरक्षित आर्थिक कारोबारमा ध्यान दिनुहोला। सुरुमा अवसर आए पनि समय दिन नसक्दा पेसा–व्यवसाय कमजोर बन्नेछ। सेयर तथा लगानीको मूल्यांकन कमजोर हुनाले लाभांश घट्न सक्छ। चोटपटक वा थकानले स्वास्थ्य कमजोर रहनेछ। कुनै पनि जोखिमपूर्ण काममा अघि नसर्नुहोला। र अड्किएका कामतर्फ अधिक रकम खर्च नगर्नुहोला। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। दाेहाेर्याएर प्रयत्न गर्दा रोकिएका काम बन्न सक्छन्।
मीन – Pisces
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मीन राशिलाई भदाै महिना विशेष उपलब्धिमूलक रहनेछ। सानो प्रयत्नले नयाँ काम, नोकरी वा व्यवसाय सुरु हुनेछ। स्रोत–साधन जुट्नुका साथै अनुकूल वातावरण बन्नाले आत्मविश्वास बढ्नेछ। मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ। प्रतिस्पर्धाबाट भाग्योदय हुने समय छ। शत्रुबाधा, मुद्दामामिला तथा कामका विविध झमेलाहरू समाप्त हुनेछन्। महत्त्वाकांक्षी योजना, दिगो काम तथा नयाँ पेसा–व्यवसाय प्रारम्भ गर्ने बलियो सम्भावना छ। स्थापित पेसा–व्यवसायले पनि उचाइमा पुर्याउन सक्छ। पहिलेका प्रतिस्पर्धीहरू नै सहयोगी बन्नेछन्। अड्किएका काम पुनः प्रारम्भ हुनेछन् र उठ्नुपर्ने रकम प्राप्त हुनेछ। अर्थ उपार्जनका नयाँ स्रोत फेला पर्नेेछन्। थालेको काम सजिलै सम्पादन हुनेछ। तर अरूको भरपर्दा केही लाभांश गुम्न सक्छ। लेनदेनसम्बन्धी हिसाबकिताबमा पनि सावधान रहनुहोला।





