काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको नापी कार्यालय भैरहवामा कार्यरत नापी अधिकृत सुग्रीव यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार करिब ५ करोड ७९ लाख ६२ हजार रुपैयाँ बिगो कायम गर्दै शुक्रबार विशेष अदालतमा यादवविरुद्ध मुद्दा दायर गरिएको हो।
आयोगले यादवले लामो समयसम्म निमित्त कार्यालय प्रमुखका रूपमा कार्य गर्दै सरकारी जग्गा प्लट मिलानको नाममा निजी व्यक्तिको नाममा पास गर्ने, करोडौं रुपैयाँको आर्थिक चलखेल गर्ने तथा पदको मर्यादाविपरीत गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोप लगाएको छ।
छानबिनमा २०५३ असार १३ देखि २०८१ असार १६ सम्मको अवधिमा यादव र उनको परिवारको कुल आय करिब ९ करोड ३ लाख रुपैयाँ मात्र भए पनि सोही अवधिमा करिब १४ करोड ८३ लाख रुपैयाँ बराबरको खर्च र लगानी भएको देखिएको आयोगले जनाएको छ। यस आधारमा करिब ४ करोड ८० लाख रुपैयाँ स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको पाइएको हो।
आयोगले गैरकानूनी सम्पत्ति जफत गरी बिगो असुल गर्न माग गरेको छ। साथै, यादवले सम्पत्ति विवरण लुकाएर झूटो विवरण दिएको अभियोगमा समेत कारबाही गर्नुपर्ने दाबी गरेको छ।
यादवले आर्जन गरेको सम्पत्तिको केही अंश उनकी पत्नी गायत्री यादव तथा छोराहरू सुधान्सु र शुभम यादवको नाममा समेत दर्ता भएकाले उनीहरूलाई पनि प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ।
नापी बिभागका उच्च भनिएका पदाधिकारीहरुसंग राम्रो उठबस भएका उनी, अहिले पनि आफुलाई कसैले केहि गर्न नसक्ने र चाडै मुद्दा जितेर फर्कने बताउने गरेको एक कर्मचारीले बताए । संयोग त के भने, केहि समय अगाडी तत्कालीन बिभागिय प्रमुखको सिफारिसमा मनमैजु कार्यालयको कार्यालय प्रमुख समेत बनाईएको थियो उनलाई । अख्तियारको प्रेस विज्ञप्तीमा समेत विभागका उच्च कर्मचारीसंग मिलेमतो गरी, भनी उल्लेख गरेकोमा, उच्च कर्मचारीको र उनको संलग्नता समेतमा गतिलो छानविन हुनुपर्नेमा विभागका ईमान्दार कर्मचारीहरु बताउछन ।





