डियर फर्मर फर्यन मिनिस्टर,
आरजु राणा देउवा ।
विषयः खुल्ला पत्र सम्वन्धमा ।
उपरोक्त सम्वन्धमा, यहि भाद्र २३ गते भएको नाती पुस्ताको आन्दोलन (जेन-जी) ले सर्वशक्तिमान सम्झने तपाईलाई, नेपाली राजनीतिको किनारमा पछारि दिएको (करिब-करिब फेरि कहिल्यै उठ्न नसक्ने गरी) हुनाले, यो खुल्ला पत्र लेखेको छु । हामीले देखेकै हो, तपाई शक्तिमा हुदा त कस्ता कस्ता मै हु भन्ने पत्रकारलाई पनि धरपक्कड गरी-गरी जेल कोच्नु भएकै हो ।
ति बलिया थिए र हम्मे-हम्मे जीउ जोगाए, नत्र त हामी जस्ता पिउसा परेको भए, कि ज्यान फाल्नु पर्थ्यो कि रगत छाद्नु पर्थ्यो । आज, तपाई शक्तिमा हुनुहुन्न भन्ने थाहा पाएर नै हो, यो फुच्चेले, छुच्चो आट गरेको, नत्र त… कालको डर कसले मान्दैन र !!
धेरै पहिलेका कुरा त्यति थाहा छैन । अन्दाजको कुरा नलेखौं । तर नेपाल सरकारका सचिव सहसचिव र नेका कै साधु नेताहरुको, कहिले कसो, बाटो पर्दा हल्का संगत गरेकै हो । तिनका मुखा र विन्दाबाट यहांको निक्कै नजिककका कुरा सुनेकै हो । ति मध्ये कति त, अहिले पनि सरकारका विभिन्न शक्तिशाली पदमा छदैछन् र तपाईको नाम भजाएर अर्वौमा खेल्दैछन पनि । हामीले सुनेको, (सांचो नभए माफ पाउ) गत २३ गते नाती पुस्ताको आन्दोलन चर्किदै जादा, यस्ता जावो आन्दोलन जसरी पनि दवाउनु भन्दै आदेश फर्माईस गर्नु भयो रे । भन्न त भन्नुहोला, म परराष्ट्र मन्त्री, कसरी हुन्छ ? म बाट आदेश । यो नेपाल हो । यहां कागज एकातिर र व्यवहार अर्कोतिर हुने कुरा सामान्य नै हो । जेन-जीले लखेटेको सरकारमा तपाई कति शक्तिशाली हुनुहुन्थ्यो भन्ने कुरा भनिराख्नै पर्दैन । त्यसैले विद्यार्थी मार्ने आदेश, तपाईको होईन भनेर पत्याउन मुस्किल नै पर्छ ।
अफिसमा खरदार, अख्तियारमा सुवदार, अदालतमा श्रेस्तेदार.. यि सबै-सबै नै, यहांकै खेताला हुन् भन्ने नेपालीजनले बुझेकै हुन । त्यसैले यसकै आडमा पटक-पटक, यता कसम खादै, उता घुस खादै आउनु भएकै रहेछ । खै प्रमाण ? भन्नुहोला । खाएको प्रमाण त देखाउन सकिन्न होला, तर ३० वर्षमा जोडीएको सम्पत्ती, तिनले आफै बोलेनन र !! जो डडेर गए । बुझ्नेलाई यत्ति काफी छैन र !!
कुरा रह्यो तपाईको स्वभावको । शक्तिले मातेर उन्मत्त तपाईका, कटु बचन, असल नागरीकले मन अमिलो पार्दै, पटक-पटक सुनेकै होईनन् र !! “नेपाल वस्नै मन पर्दैन । यहां आयो कि, डिप्रेसन हुन्छ” भन्ने खालका । देशकै बहालबाला मन्त्रीले, देशै मन पर्दैन भन्दा, विचरा… , यो देश कति रुन्थ्यो होला । हात खुट्टा पट्पट् फुटेका डडेलधुराका जनताले, “अब भोट हेलिकप्टर चढ्नेलाई दिनु” भनेको सुनेर, तिनले आफुलाई कत्ति धिक्कार्थे होला । जीवन र जवानी, पेशा र अध्ययनमा निखारेका सोझा र स्वाभिमानी (थोरै मात्र) राष्ट्रसेवकलाई तपाईले ठाडै “त” भनेर तिनका मान मर्दन गर्दा कत्ति मन रुन्थ्यो होला । कर्मचारी, ठेकेदार, व्यपारी र प्रहरीले त तपाईलाई करडौं बुझाएको सुनेकै हो, हुदा हुदा सेनाको सरुवा बढुवा सम्ममा पनी तपाईले गिद्दे नजर लगाएको, नसुनिएको होईन । तपाईको छोरा र बुहारीको करिब-करिब नाङ्गो तस्विर फेसबुकमा देख्दा, महिनाको विस हजारको लागी, अरबको घाममा भेडा चराउदै गरेको, पुन्टे चमारले के सोच्यो होला र आफ्नो भाग्यलाई कति धिक्कार्यो होला ।
हत्तपत्ती देउवा दरवारको सबैकुरा, सबैले थाहा नपाए पनि, २४ गते आपतमा, तपाईले फोन गर्दा सबैले स्विच अफ गरे रे !! भन्ने चाही सुनेकै हो । खै कहां गए तपाईले खोक्दा, ओहो हजुर तातोपानी लिईस्यो न, भन्नेहरु । तपाईले पाध्दा, आहां कति मिठो बास भन्नेहरु । तिन फिटको जिउमा टलक्क टल्कने जरीवाला कुर्ता लगाउदा, हजुर त स्वर्गकी अप्सरा भन्नेहरु, खै… ति कहां गए । तपाईको नाम भजाएर अर्वौमा खेल्ने, नेपाल सरकारका चोर, सचिव र सहसचिवहरु (सबै होईनन्), खै… ति कहां गए । धेरै त सकिन्न, दुईचार जनाको नाम त म पनि दिउला, जो अहिले पनि अरबौमा खेल्दैछन ।
कालीकोटमा सिटामोल नहुदा, मियासिटा पार्कमा गुच्चीको ब्याग किन्न लाग्नु भएकै रहेछ । रामेछापका जनताले पिउने पानी नपाएर प्याक-प्याक छट्पटिदा, तपाई रोयल सलुट लिदै हुनुहुदो रहेछ । विशाल बाढीले विपि राजमार्ग बगाएर जनता विचल्लीमा हुदा, मज्जाले क्यानडा घुम्नु भएकै रहेछ र सगरमाथा संवादका नाममा टोकियोमा डिनर लिदै हुनुहुदो रहेछ । अन्न भण्डार तराईले मल र विउ नपाउदा, हिल्टनका लागी रंगिन सिसाका बिटा किन्दै हुनुहुदो रहेछ । जनताले बाटो र बत्ती माग्दा, तपाई देउवा दरवारमा पैसा जोगाउन तारबार बेर्दै हुनुहुदो रहेछ । यस्तै-यस्तै अति भएर नै त होला, नाती पुस्ताले यहांलाई घेरघार गरेको, केरकार गरेको । यि सब हेर्दा, माफ गर्नुहोस् मन्त्री ज्यू, नाती पुस्ताले, तपाईलाई यतिको लघारेको ठिकै भन्न मन लाग्यो । रिसानी माफ पाउ ।
र अन्तमा, जेन-जीले कट्टु समेत काटिदिएर सर्वाङ्ग देखिएको तपाईको सचिवालय, नाङ्गिएर पनि अझै लेख्दैछ, “त्यो पैसा होईन, त्यो भिडियो नक्कली हो, डेढ करोड माथीका रक्सी सबै नक्कली हुन, ति चेकबुक नक्कली हुन”। अझै मिलेन, बरु यसरी सच्याउनुस्, “ति पैसा होईनन, ति त डडेलधुराका चिलाउनेका सेउला हुन, जो चिकेन सेकाउन ल्याएको” । वल्ल तपाईको चित्त बुझ्ला । साच्चै हो, हामी पनि तेहि चाहन्छौं, ति सबै-सबै नक्कली भईदिउन । तपाईले कुटाई खाएको, नक्कली नै भईदिउन । तपाईले म र कुकुर एकै हो भनेको, नक्कली नै भईदिउन । तपाईको विशाल वंगला जलेको, नक्कली नै भईदिउन…। पुन: भने, हामी पनि तेहि चाहन्छौं, ति सबै-सबै नक्कली नै भईदिउन । तर के गर्नु मन्त्री ज्यु, तपाईको सचिवालयले मात्रै नदेखेको हो, संसारले सबै देखिसक्यो । के नक्कली, के सक्कली… जय पशुपतीनाथ
(सम्पादक इश्वर अर्याल त्रिवि भूगोल केन्द्रिय विभागमा पिएचडी अध्ययनरत हुनुहुन्छ।)




