काठमाडौँ । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया एन्ड इस्ट–एसिया प्यासिफिक छनोटअन्तर्गत नेपालले कुवेतलाई ५८ रनले हराएको छ।
नेपालले प्रस्तुत गरेको १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमा सबै विकेट गुमाउँदै ८३ रनमा समेटियो।
कुवेतका लागि क्लिन्टो एन्टोले सर्वाधिक २६ रन बनाए भने यासिन पटेलले १९ र मीत भावसारले ११ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।
बलिङमा नेपालका कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र ललित राजवंशीले २-२, नन्दन यादव, कुशल भुर्तेल र सोमपाल कामीले एकएक विकेट लिए ।
त्यसअघि ओमान क्रिकेट एकेडेमी-१ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो। नेपालका कुशल भुर्तेलले ५६ बलमा ३ छक्का र ३ चौकासहित सर्वाधिक ६६ रन बनाएका थिए। गुल्सन झाले ६ बलमा ३ छक्कासहित २० रन बनाएका थिए।
बलिङमा कुवेतका नवीनराज राजेन्द्रन र अनुदीप चन्दमाराले २-२ विकेट लिएका थिए ।
नेपालले अब समूह चरणको अन्तिम खेल शुक्रबार जापानसंग खेल्नेछ ।