काठमाडौं । नेपाल टेलिकमले ग्राहकको माग सम्बोधन गर्न जिएसएम पोस्टपेडमा रिक्योरिङ सजिलो अनलिमिटेड प्याकेज सञ्चालन गरेको छ । कम्पनीले जिएसएम पोस्टपेडका लागि सञ्चालन गरिएका सम्पूर्ण सजिलो अनलिमिटेड प्याकेजमा प्याकेजको समयावधि समाप्तिपछि स्वचालित रूपमा पुनः प्याकेज खरिद हुने गरी रिन्योअल प्याकेजहरू सञ्चालनमा ल्याएको हो ।
कम्पनीका अनुसार साबिकका सजिलो अनलिमिटेड एक सय ९९, सात सय ९९, नौ सय ९९, १४ सय ९९ र एक्जेक्युटिभ प्याकलाई मुख्य अफरका रूपमा लिएर पहिलोपटक प्याकेज खरिद गर्दा अंग्रेजी महिनाको १५ तारिखलाई आधार मानेर प्रो-रेटका आधारमा रकम काटिने र सोपछि प्रत्येक अंग्रेजी महिनाको १५ तारिखमा स्वतः सोही प्याकेज रिन्यु हुने व्यवस्था लागू गरिएको छ ।
अंग्रेजी महिनाको १५ तारिखमा बिलको हिसाब हुँदा प्याकेज शुल्कभन्दा उपलब्ध क्रेडिट लिमिट पर्याप्त नभएमा सेवा अवरुद्ध हुन जान्छ र भुक्तानीपछि मात्र सेवा सुचारु हुनेछ । यस्ता प्याकेज खरिद गर्ने ग्राहकले उल्लिखित डाटा र एसएमएसले नपुग भएमा सोका लागि अन्य प्याकेज खरिद गर्न सक्नेछन् ।
ग्राहकले बढी वा कम रिसोर्सेजसहितका अन्य रिक्योरिङ प्याकेज खरिद गर्न चाहेमा वा साबिकका नर्मल एसएमएस डाटा प्याकेज प्रयोग गर्न खोजेमा सो पनि खरिद गर्न सकिनेछ । एउटा क्यिोरिङ प्याकेज चलिरहेको अवस्थामा अन्य रिक्योरिङ प्याकेज खरिद गरेमा उक्त प्याकेज पेण्डिङ अवस्थामा रहनेछ र पेण्डिङ प्याकेजलगत्तै आउने अंग्रेजी महिनाको १५ तारिखमा मात्र एक्टिभ हुनेछ । अन्य नर्मल प्याकेज लिएको हकमा भने भ्यालिडिटी कम रहेको प्याकेजको रिसोर्सेज पहिले प्रयोग हुने कम्पनीले जनाएको छ । रिक्योरिङ सजिलो अनलिमिटेड प्याकेज सुचारु गर्न ८१४१५८२८४३ डायल गरी छनोट गर्नुपर्नेछ ।