काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्थापनाको क्रममा दिइएको जग्गा अतिक्रमण तथा सीमा मिचिएका तथ्य सार्वजनिक भइरहँदा केही स्थानका जग्गाको अझैसम्म नामोनिसानसमेत भेटिएको छैन ।
२०१३ सालमा त्रिवि स्थापनाका लागि ललितपुरको लुभु, काठमाडौँको छाउनी, स्वयम्भू, महाराजगन्ज, काभ्रेको नगरकोटलगायतका स्थानमा जग्गा अध्ययन गरिएको थियो, जसमध्ये तत्कालीन श्री ५ मुमा बडामहारानीहरू कान्ति राज्यलक्ष्मी शाह र ईश्वरी राज्यलक्ष्मी शाहले ललितपुरको लुभुमा ३७५ रोपनी निजी बिर्ता जग्गा विश्वविद्यालय स्थापनाका लागि दिएका विभिन्न अभिलेखबाट देखिन्छ तर यो जग्गा अहिले कुन ठाउँमा छ र कसले भोगचलन गरिरहेको छ भन्ने सामान्य जानकारी कसैलाई पनि छैन ।
त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन, २०८१ ले पनि यसलाई उजागर गरेको छ । तत्कालीन अवस्थामा बडामहारानीहरूले जग्गा दिएको विषय २०१३ साल असार १७ गते गोरखापत्र दैनिकमै समाचार छापिएको छ । “त्रिविलाई जग्गा दिइएको भनेको क्षेत्रको धरातलीय यथार्थ बुझ्न विश्वविद्यालय कमिसनले २०१३ वैशाख २ गते निरीक्षण गरेको त्रिविकै पहलमा लेखिएको विश्वविद्यालयको इतिहास (२०१६–२०२०) सम्बन्धी पुस्तकमा उल्लेख छ,” प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदन अनुसार उक्त स्थानका लागि आवश्यक पर्ने पानी गोदावरी खोला, ढुङ्गेमती, गोपालडोल, श्री ढुङ्गमतीबाट पाइप बिछ्याउनका लागि पाइपलाइनको दुरीसमेत गणना गरेको र त्यसरी दिइएको जग्गा गोदावरी नौधाराबाट ३.५ माइल उत्तरपश्चिममा र गुन्डुमती १.५ माइल दक्षिण पश्चिम कुनामा रहेको विश्वविद्यालयको इतिहाससम्बन्धी पुस्तकमा उल्लेख गरिएको छानबिन समितिले प्रस्ट पारेको छ । साथै २०१३ असार १४ गते कमिसनको नारायणहिटीमा बसेको बैठकले उक्त जग्गामा आवासीय विश्वविद्यालयसमेत स्थापना गर्न सकिने र उक्त जग्गा विश्वविद्यालयको कार्यमा राखिदिने निर्णय गरिएको विविध अभिलेखबाट पुष्टि भएको समितिको प्रतिवेदनमा छ तर समितिले गत वर्ष उक्त जग्गाबारेमा स्थानीयको सहयोगमा लुभु क्षेत्रको अवलोकन गरे पनि जग्गा यकिन हुन नसकेको बताएको छ । नापी कार्यालय ललितपुरको फिल्डबुकमा पनि साबिक लुभु पञ्चायत वडा नं. ९ (क) का विभिन्न कित्ताका जग्गा किसानले कमाइरहेको देखिएको थियो । २०२१ साल फागुनको नापी अनुसार जग्गावाला किसानको नाम, थर, वतन महलमा श्री ५ जिजुमुमा बडामहारानीको निजी बिर्ता जग्गा भनी उल्लेख भएको प्रमाण भेटिएको थियो ।
साथै किसानको बेहोरामा पनि यो जग्गा श्री ५ बडा महारानीको बिर्ता हो मैले जोती खाएको भन्ने बेहोरा उल्लेख भएको पनि समितिका सदस्य बल्लभ अधिकारीले जानकारी दिनुभयो । यी सबै तथ्य केलाउँदा उक्त जग्गाको भौगोलिक अवस्थिति खोजबिन गर्न अझै केही समय लाग्ने देखिएको तर समितिको कार्यावधि सकिएकाले पूरा गर्न नसकिएको समितिले जनाएको छ । त्रिविले छुट्टै खोजबिन समिति गठन गरी थप अध्ययन गर्न उपयुक्त हुने सुझाव समितिले दिएको छ । त्यस्तै विद्वत् शिरोमणि हेमराज शर्माको स्मृतिमा उहाँका छोरा केशरीराज पाण्डे र बुहारी किरणकुमारी पाण्डेले त्रिविलाई दिएको काठमाडौँ कपनको जग्गाबारे पनि त्रिवि पदाधिकारी अनभिज्ञ देखिएका छन् । समितिका अनुसार पाण्डेको स्मृतिमा कपन गाउँ पञ्चायत वडा नं. ७ (क) को कित्ता नं. १९ को २९ रोपनी आठ आना जग्गा त्रिविलाई दिएको देखिन्छ ।
२०४६ सालको त्रिवि कार्यकारी परिषद्को बैठकको निर्णय नं. १८४६ ले पाण्डे परिवारले दिएको जग्गा लिने र निजसँग लालपुर्जा र खरिदबमोजिमको जग्गा छोडपत्र गराई रजिस्ट्रेसन पास गराई लिने स्वीकृति भएको देखिन्छ तर विश्वविद्यालयको प्रशासन महाशाखाबाट कार्यकारीको निर्णय कार्यान्वयन गर्नेतर्फ चासो नदिएको समितिको ठहर छ ।
समितिले यस जग्गाका सम्बन्धमा मालपोत कार्यालय चाबहिलसँग समन्वय गरेर कम्प्युटर अभिलेखमा खोजी गर्दा नभेटेपछि पुरानो लगत हेरेर खोजी गरिदिन पत्राचार गरेको थियो तर यही अवधिमा समितिको कार्य अवधि सकिएका कारण थप तथ्य केलाउन नसकिएको सदस्य अधिकारीले बताउनुभयो । यस विषयमा पनि त्रिविले छुट्टै समिति बनाएर खोजी गर्नुपर्ने सुझाव दिइएको छ ।
यसअघि त्रिविले सम्पत्ति सङ्कलन, संरक्षण तथा व्यवस्थापनबारे अध्ययन गर्न, २०७२ चैत ४ गते प्राध्यापक अनुपकुमार श्रेष्ठको संयोजकत्वमा एक समिति गठन गरेको थियो । समितिले नीति, नियम र समन्वयको अभाव, दक्ष जनशक्तिका कारण अभिलेख र भण्डारणको समस्या रहेको औँल्याएको थियो ।(गोरखापत्रबाट)