काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो पर्व दीपावलीलाई अमेरिकाको टेक्सस राज्यस्थित फोर्ट वर्थ सिटीले मान्यता प्रदान गरेको छ ।
फोर्ट वर्थ सिटी काउन्सिलको मंगलबार बसेको नियमित बैठकले दिपावली पर्वलाई सिटीको विशेष सांस्कृतिक उत्सवका रूपमा मान्यता प्रदान गरेको घोषणा गरेको हो ।
सिटीले मान्यता प्रदान गरेसँगै अबदेखि हरेक वर्ष दीपावली पर्वलाई फोर्ट वर्थ सिटीको आधिकारिक सांस्कृतिक उत्सवका रूपमा मनाइने भएको सिटी काउन्सिलले जनाएको छ ।
बैठकमा सिटी प्रशासनको तर्फबाट काउन्सिल सदस्य डेबराह पिपल्सले दीपावली पर्वलाई सहरको सांस्कृतिक विविधताको प्रतीकका रूपमा सम्मान गर्नुपर्ने प्रस्ताव पेश गर्नु भएको थियो ।
सो अवसरमा उहाँले नेपाली समुदायको सांस्कृतिक र सामाजिक योगदानको उच्च प्रशंसा गर्दै फोर्ट वर्थ सिटी विविधता र सहअस्तित्वको सहर भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा गोरखापत्र संस्थानका महाप्रबन्धक लाल ऐरी, नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष सुरज भण्डारी, साथै समुदायका अगुवा तथा स्थानीय पत्रकारहरूको उपस्थिति रहेको थियो ।
यस अघि टेक्ससको ड्यालस काउन्टी कोर्टले पनि गत बर्ष दिपापली पर्बलाई काउन्टीको आधिकारिक उत्सवको रुपमा घोषणा गरेको थियो ।(गोरखापत्रबाट)




