काठमाडौं । नागढुंगा-नौबिसे-मलेखु सडकखण्ड यही मंसिर २४ गतेदेखि आंशिक बन्द हुने भएको छ। उक्त सडक खण्डमा कालोपत्र गरी स्तरोन्नतिको काम गर्नुपर्ने भएकाले आंशिक रूपमा सडक बन्द गर्न लागिएको हो।
सडकखण्डमा आगामी पुस १ गतेसम्म दैनिक पाँच घण्टा सवारीसाधन सञ्चालनमा रोक लगाउने तयारी गरिएको छ।
बिहान १०:३० बजेदेखि दिउँसो ३:३० बजेसम्म सडक पूर्ण रूपमा बन्द गरेर निर्माण कार्य अघि बढाइने नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डले जनाएको छ।
धादिङको गल्छी–गजुरी खण्डअन्तर्गत पर्ने जोखिमपूर्ण पोखरेभिर क्षेत्रमा चट्टान काटेर सडक चौडा बनाउनुपर्ने भएकाले सवारी रोकेर काम गर्न लागिएको हो।
त्यस्तै, नागढुंगादेखि पिप्लामोडसम्मको खण्ड कालोपत्रे गर्न सवारीसाधन रोकेर काम गर्न लागिएको आयोजनाले जनाएको छ।
उक्त समय अवधिभित्र वैकल्पिक सडकमार्गहरूको प्रयोग गर्न यात्रु र चालकलाई आयोजना कार्यालयले अनुरोध पनि गरेको छ।




