काठमाडौं ।
दोलखाको भीमेश्वर नगरपालिकाको फायर ब्रिगेडले जनतालाई सुरक्षाको अनुभूति दिलाएको नगर प्रमुख ईश्वर मानन्धरले बताउनुभएको छ । नगरका फायर ब्रिगेडमा कार्यरत कर्मचारीका लागि पालिकाले आयोजना गरेको ५ दिने आगलागी ब्यवस्थापन पुनर्ताजगी तालिमको आज उद्घाटन गर्दै मेयर मानन्धरले फायर टिमको प्रशंसा गर्नुभएको हो ।
भीमेश्वर नगरले आगलागी घटना नियन्त्रणका लागि अन्य छिमेकी पालिकालाई पनि सहयोग गरेको प्रसंग सुनाउँदै उहाँले आगामी दिनमा पालिकाको फायर टिमलाई थप मजबुत बनाउन सबैखाले उपकरण र जनशक्ति ब्यवस्थापन गर्ने प्रतिबद्दता ब्यक्त गर्नुभयो ।

नगरपालिकाका विपद फोकल पर्सन इन्जिनियर सुरेश राउतले सबै वडातहमा विपदस्तरीय कमिटी निर्माण भैसकेका र ती क्रियाशील रहेका जानकारी दिनुभयो । उहाँले विपदका बेला पालिका, सेना, प्रहरी र वन कार्यालयको संयुक्त प्रयासले आगो नियन्त्रण गरिँदै आएको बताउनुभयो ।

युएसएआइडी तयार नेपालको आर्थिक सहयोगमा हिमालयन इन्स्टिच्यूट अफ फायर एण्ड इमर्जेन्सी सर्भिस (हाइफेस)ले यस तालिममा प्राविधिक सहजीकरण गर्दैछ । हाइफेसका प्रमुख प्रशिक्षक सहदेव नगरकोटीले पुनर्ताजगी तालिममा दैनिक जीवनमा आइपर्ने आगलागीका घटनामा सामना गर्ने सीप प्रदान गरिने साथै नवीनतम उपकरण चलाउन सिकाइने जानकारी दिनुभयो ।
कार्यक्रममा तयार नेपालका फिल्ड संयोजक थिरबहादुर थापा, हाइफेशका अध्यक्ष सुशील राउत, नगरपालिकाका वरिष्ठ अधिकृत नारायण सेढाईँ, इन्जिनियर नारायण शिवाकोटी, स्थानीय ब्यापारी नवराज श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

तालिममा भीमेश्वर नगरपालिकाका १४ र जिरी नगरपालिकाका २ जना गरी १६ जना सहभागी रहेका छन् । तालिमको क्रममा नगरपालिकाको दमकल निकै ब्यवस्थित र सुरक्षित रहेको तथा विपद रेस्पोन्स प्रणाली चुस्त दुरुस्त रहेको भन्दै प्रशिक्षकहरुले प्रशंसा गरेका छन् ।




