काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज ४ वटा प्रदेशमा वर्षा र २ प्रदेशमा हावाहुरी आउन सक्ने आंकलन गरेको छ ।
विभागका अनुसार कोशी, मधेश, वागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै, कोशी र मधेश प्रदेशका तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना हुनाले त्यसबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
अहिले बिहान देशभरको पहाडमा आंशिकदेखि सामान्य बदली रही बाँकी इलाकामा आंशिक बदलीदेखि मौसम सफा छ । हिजो राति मधेश र लुम्बिनी प्रदेशका पहाडमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षा भएको थियो ।
आज दिउँसो देशभरको पहाडमा आंशिकदेखि सामान्य बदली रही बाँकी इलाकामा आंशिक बदलीदेखि मौसम सफा रहने पूर्वानुमान छ । कोशी, मधेश, वागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै, कोशी र मधेश प्रदेशका तराईका केही स्थानमा हावाहुरीको सम्भावना छ ।
आज राति देशभरको पहाडमा आंशिकदेखि सामान्य बदली रही बाँकी इलाकामा आंशिक बदलीदेखि मौसम सफा रहने अनुमान छ । कोशी, वागमती र गण्डकी प्रदेशका पहाडमा तथा मधेश प्रदेशका १-२ स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ। कोशी र मधेश प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।





