आजको राशिफल २०८० साल जेठ १३ गते, शनिवार । ज्येष्ठ शुक्लपक्ष सप्तमी तिथि, प्रातः ५ः४४ बजेपछि अष्टमी। मघा नक्षत्र, २२ः०८ बजेपछि पूर्वफाल्गुनी । चन्द्रराशि– सिंह ।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
स्वास्थ्यगत कमजोरीले काममा विलम्ब हुन सक्छ । अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ । प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन् । तापनि, बुद्धिको उपयोगले लक्ष्यनजिक पुग्न सकिनेछ । समस्या दर्साउँदा अभिभावक तथा शुभचिन्तकहरूले साथ दिनेछन् । अध्ययनमा गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा फाइदा हुनेछ ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ । बेसुरमा बोल्ने बानीले गोपनीयता भंग हुन सक्छ। विशेष योजना सार्वजनिक नगर्नुहोला । काम बिग्रने डरले सताउनेछ । साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ । प्रगतिमा ईर्ष्या गर्नेहरूले पनि अवरोध पुर्याउन सक्छन् । नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
दाजुभाइमा असमझदारी बढ्न सक्छ । जिम्मेवारी थपिए पनि सहयोगीहरू पछि हट्नाले दु:ख पाइनेछ। ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन् । व्यवसायमा सामान्य लाभ हुनेछ तर साेचेको दाम भने नउठ्न सक्छ । आफ्नाे लाभांशमाथि अरूले दाबी गर्न सक्छन् । प्रतिस्पर्धीलाई कमजोर नठान्नुहोला । मिहिनेतले काम बनाउन सकिनेछ । शुभचिन्तकहरूले साथ दिनेछन् ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कर्मयोगबाट मनग्य आम्दानी भित्र्याउने अवसर प्राप्त हुनेछ । बुद्धिको उपयोगले नाम, दाम र इनाम प्राप्त हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । कला, गला र अभिव्यक्तिले धेरैको मन जित्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन् । सानो प्रयत्नले जीवनशैलीमा परिवर्तन आउनेछ ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला । तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन् । विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ । आकर्षक उपहारले उत्साह जगाउनेछ । पहिलेको सफलताले हौसला प्रदान गर्नेछ । बिछोडिएका आफन्तसँग पनि भेटघाट हुनेछ ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउने हुँदा होसियारीसाथ काममा जुट्नुहोला । आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ । बेहोसीले नोक्सान पुर्याउन सक्छ । नाम र दामका लागि आज गरिएको खर्च व्यर्थ हुने हुँदा सजग रहनुहोला । खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया भने अघि बढ्न सक्छ ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
आज लक्ष्मीको कृपा प्राप्त हुनाले मनग्य धन लाभ हुनेछ । व्यापारमा लाभांश बढ्नाले मन उत्साहित हुनेछ । आवश्यक भौतिक साधन जुट्नेछन् । लगानीका रूपमा सञ्चित धन उपयोग गर्दा लाभ हुनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । अध्ययनमा राम्रै प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने समय छ । केही रकम भने अरूका लागि खर्चनुपर्ने हुन सक्छ ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
अवसर प्राप्त भए पनि बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ । मिहिनेत गर्दा काम प्रारम्भ हुनेछ । तर प्रशस्त दाम भने हातलागी नहुन सक्छ । सहयोगीबाट गोपनीयता बाहिरिन सक्छ । मिहिनेतले व्यावसायिक चुनौती पन्छाउन सकिनेछ । तत्काल लक्ष्य प्राप्त नभए पनि दीर्घकालीन योजना बन्नेछ । स्वार्थका लागि नजिकिनेहरूबाट सजग रहनुहोला ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सम्भावना देखिए पनि ठूलो उपलब्धि प्राप्त नहुन सक्छ । अरूका लागि बुद्धि खर्चनुपर्नेछ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । चिताएको काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ने हुन सक्छ । आफ्नो वस्तुमा अरूले दाबी गर्न सक्छन् । केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्नेछ । आजको मिहिनेतले भविष्यमा भने नाम र प्रतिष्ठा दिलाउनेछ ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ । अस्वस्थताले काममा जुट्न नसकिएला । सामान्य काममा धन र श्रम खर्च हुनेछ । गोपनीयता बाहिरिनाले अप्ठ्यारो पर्न सक्छ । सहयोगीहरू पछि हट्नेछन् भने आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
स्वादिष्ट खानपान र मनोरञ्जनको आनन्द प्राप्त हुनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । व्यापार बढ्नेछ र व्यवसायमा मनग्य लाभ हुनेछ । आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ । अतिथिका रूपमा सत्कार पाइनेछ । प्रेम र मित्रताकाे बन्धन कसिलाे हुनेछ । व्यवसायको सन्दर्भमा यात्राको अवसर पनि जुट्नेछ । नाम, दाम र इनाम हातपार्न सकिनेछ ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ । केही चुनौती अँगाल्दै अघि बढ्नुपर्ला । श्रम परे पनि कर्मयोगले भविष्यको बाटो समाउनेछ । समस्या पन्छाउँदै अघि बढ्ने समय छ । गोपनीयता बाहिरिनाले केही समस्यामा भने परिएला । फजुल खर्च बढ्ने र लेनदेनमा पनि नोक्सान पुग्ने देखिन्छ । पछिका लागि विशेष काममा जग बसाउने मौका छ ।





