मासिक राशिफल-: भाद्र २०८०
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मेष राशिलाई भदौ महिना निकै उपलब्धिमूलक रहनेछ । तर लक्ष्यको उचाइ प्राप्त गर्न केही समय लाग्न सक्छ। सामान्य स्वास्थ्य समस्या देखिनाले पूर्ण समय काममा जुट्न नसकिए पनि सहयोगीले साथ दिनेछन् । शुभचिन्तकको प्रेरणाले हौसला र उपलब्धि प्राप्त हुनेछ । परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू फेला पर्नेछन् । कृषितर्फ उत्पादनको राम्रो मूल्य प्राप्त हुनेछ । पशुपालनबाट लाभ उठाउन सकिनेछ । राम्रो सवारी तथा विभिन्न भौतिक साधनहरू जुटाउने समय छ । पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ । घरमा सुख–समृद्धि बढ्नेछ । अध्ययन र लेखनतर्फ प्रगति हुनेछ । मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ । नियमित आयआर्जन हुनाले पुरानो कर्जा घटाउने समय छ । विदेश ताक्नेहरूलाई महिनाको उत्तरार्धमा यात्राको साइत जुर्न सक्छ ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
वृष राशिलाई भदौ महिना केही संघर्षमय रहनेछ । अर्थ अभाव र पारिवारिक दबाबले व्यवहार अस्थिरतातर्फ मोडिन सक्छ । उठ्नुपर्ने रकम हातलागी नहुँदा कर्जा लिनुपर्ने अवस्था आउन सक्छ । बाहिरी काम रोकेर पनि आफन्तका लागि समय छुट्याउनुपर्ला । पेसा–व्यवसायमा नयाँ योजना थाल्न समस्या पर्नेछ । महत्त्वाकांक्षाले आर्थिक जोखिम निम्त्याउन सक्छ । नोकरीमा अरूको दबाब झेल्नुपर्ने अवस्था आउन सक्छ । अप्ठ्यारो समयमै सहयोगीहरूले साथ दिन छाड्नेछन् । घर–व्यवहार सुधार्न केही समय सामाजिक जिम्मेवारीबाट पछि हट्नुपर्ने स्थिति आउन सक्छ । अध्ययनमा धेरै उपलब्धि नभए पनि विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ । तत्काललाई केही काम रोकिए पनि पहिलेको साख र उपलब्धि जोगाउन सकिनेछ, मेहनत गर्नुहोला ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
मिथुन राशिलाई भदौ महिना निकै उत्साहवद्र्धक रहनेछ । बल, पराक्रम, तेज बढ्नाले चुनौतीका पहाड चिर्ने आँट जाग्नेछ । शत्रु र रोगबाट छुटकारा पाइनेछ । प्रतिष्ठित व्यक्तिहरू सहयोगीका रूपमा देखापर्नेछन् । स्रोत–साधन जुट्नाले महत्त्वाकांक्षी काम थालनी गर्न सकिनेछ । रोकिएका काम सम्पादन हुनेछन् । उद्योग–धन्दा र व्यापारमा विशेष सफलता मिल्नेछ । नोकरी तथा राजनीति गर्नेहरूलाई पनि पद–प्रतिष्ठा प्राप्त हुने समय छ । प्रतिस्पर्धीहरूले हार खानेछन्। घरमा सुख–समृद्धि बढ्नेछ । भूमिलगायत स्थायी सम्पत्ति हातपार्ने समय छ । दाजुभाइमा भने केही असमझदारी बढ्न सक्छ । साझेदारी तथा सगोलको सम्पत्तिमा विवाद आउने हुँदा घरायसी माहोल बिग्रन सक्छ । आफ्नो उपलब्धिमा पनि अरूले दाबी गर्ने सम्भावना रहेकाले सावधान रहनुहोला ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कर्कट राशिलाई भदौ महिनामा केही चुनौती देखिए पनि उपलब्धि प्राप्त गर्न सफल भइनेछ । अरूको भरपर्दा काम रोकिने हुँदा स्वयं जुट्नुपर्नेछ । केही विवादास्पद जिम्मेवारी आउनेछन् तापनि समयले साथ दिनेछ । नोकरीमा नयाँ अवसर प्राप्त हुनेछ । व्यापार बढ्नेछ र पेसा–व्यवसायमा आंशिक फाइदा हुनेछ । कृषितर्फ नयाँ प्रविधि भिœयाउने समय छ । सञ्चित रकम खर्चनुपरे पनि भौतिक साधन र केही उपकरण संग्रह गर्न सकिनेछ । लेनदेनसम्बन्धी पुरानो हिसाबले वादविवाद निम्त्याउन सक्छ । स्वास्थ्यमा शिर, दाँत र आँखाको समस्याले सताउन सक्छ । परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू फेला पर्नेछन् । गरेका कामबाट बिस्तारै लाभ मिल्नेछ । मिहिनेत गर्दा अध्ययनमा राम्रो प्रगति हुनेछ । विदेश ताक्नेहरूलाई यात्राको साइत जुर्न सक्छ ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सिंह राशिलाई भदौ महिनामा उच्च महत्त्वाकांक्षाले समस्या निम्त्याउन सक्छ । अप्ठ्यारा काममा हात हाल्नाले समस्याबाट बाहिरिन समय लाग्नेछ । प्रतिष्ठाको भ्रमले श्रम, समय र धन खर्च हुनेछ । बोलीको लयमा कठोरताको आभास हुनाले सहयोगीहरू जिम्मेवारीबाट पन्छिन सक्छन् । सानो काममा लामो समय बित्नेछ र श्रमको तुलनामा न्यून प्रतिफल प्राप्त हुनेछ। वादविवादको योग देखिएकाले धैर्य एवं सुझबुझका साथ काममा जुट्नुहोला । परिस्थिति अनुकूल बनाउन व्यवहारमा सुधार ल्याउनुपर्नेछ । प्रयत्न गर्दा व्यवसायमा सुधारका लक्षण पनि देखिनेछन् । पेसागत जिम्मेवारी बढ्नेछ । अध्ययनमा जुट्नेहरूलाई सफलता प्राप्त हुनेछ । विदेश ताक्नेहरूलाई यात्राको साइत जुर्न सक्छ । मनपर्ने वस्त्र, आभूषण आदि उपहार प्राप्त हुनेछन् ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
कन्या राशिलाई भदौ महिना केही संघर्षमय रहनेछ । सानो कमजोरीले आर्थिक व्यवस्थापान असन्तुलित बन्न सक्छ । सञ्चित रकम किनमेलमा खर्च हुनेछ भने लगानी तथा सरसापटमा गएको रकम अड्किनाले व्यवहारमा अर्थअभाव देखापर्ने सम्भावना छ । आशा देखाउनेहरूले झुक्याउन सक्छन् । परिस्थिति अनुकूल नभएसम्म नयाँ कार्ययोजना अघि नबढाउनुहोला । समस्या पर्दा सहयोगीहरू कमै भेटिनेछन् । कर्मक्षेत्रमा धेरै मिहिनेत र दौडधुप गर्नुपर्ने समय छ । उधारो व्यापार गर्नुपर्ला । अधिक कर्जा लिएर जोखिम निम्त्याउनु भन्दा क्षति हुनबाट जोगिने प्रयास गर्नुहोला । प्रतिज्ञा पूरा नगरे पनि आफन्तसँग नम्र व्यवहार गर्नुहोला । महिनाको उत्तरार्ध लागेपछि स्थितिमा सुधार आउनेछ । प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने साइत जुर्ने सम्भावना छ ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
तुला राशिलाई भदौ महिना फलदायी रहनेछ । रोकिएका कामले गति लिनुका साथै आयस्रोत सबल बन्नेछन् । व्यापार बढ्नेछ, चिताएको काम बन्नेछ र व्यवसायले उचाइको मार्ग अवलम्बन गर्नेछ । कृषि र पशुधनबाट यथेष्ट लाभ मिल्नेछ । नोकरीतर्फ नयाँ अवसर प्राप्त हुने समय छ । मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ । आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन् । सेयर तथा साझेदारीमा मनग्य फाइदा हुनेछ । उठ्नुपर्ने रकम हातलागी हुनेछ । पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । विदेश ताक्नेहरूका लागि यात्राको प्रक्रिया अघि बढ्नेछ । प्रमाण नराखी दिएको नगद र उधारो व्यापारले भने वादविवाद निम्त्याउन सक्छ । भौतिक साधनमा क्षति पुग्न सक्छ । पछिल्ला दिनमा आयस्रोत कमजोर हुनेछ, आर्जित धन र उपलब्धि जोगाउने प्रयास गर्नुहोला ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
वृश्चिक राशिलाई भदौ महिनामा विशेष अवसर प्राप्त हुनेछन् । तर समयमा निर्णय लिन नसक्दा केही पछि परिनेछ । घरका समस्याले सामाजिक काममा बाधा पुर्याउन सक्छ । आफ्नैले उल्झनमा फसाउन सक्छन् । अरूको भरपर्दा काममा धोका पाइनेछ । आलस्य गर्ने प्रवृत्तिले अध्ययनको लक्ष्य प्राप्त नहुन सक्छ । नियमित प्रयास गर्दा कर्मसिद्धि हुनेछ । प्रयत्न गर्दा सामाजिक अभियानको नेतृत्व लिन सकिनेछ । विशिष्ट व्यक्तिहरू नजिकिनेछन् । मिहिनेत गर्दा नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थान प्राप्त हुने समय छ । लगानी परे पनि दिगो काम, व्यवसाय आदिको पूर्वाधार तयार हुनेछ । महिनाभरि संघर्ष गर्नुपरे पनि अन्त्यमा उपलब्धि प्राप्त गर्न सफल भइनेछ । तर आफ्नो भोगाधिकारमाथि अरूले दाबी गर्न सक्छन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
धनु राशिलाई भदौ महिना सामान्य फलदायी रहनेछ । मिहिनेत गर्दा उपलब्धि प्राप्त गर्न सकिनेछ । खर्च लागे पनि स्रोत–साधन जुटाउन सकिनेछ । नोकरी तथा राजनीतिमा अवसर खोज्ने समय छ । प्रयत्न गर्दा नयाँ कार्य थालनी हुन सक्छ। धार्मिक तथा सामाजिक काममा प्रवृत्त भइनेछ । व्यवसायका लागि पूर्वाधार तयार पार्ने समय छ । पेसा–व्यवसायमा सुधारका लक्षण देखिनेछन् । महिनाको उत्तरार्धमा व्यापार बढ्नुका साथै सामान्य अर्थलाभ हुनेछ र जीवनशैलीमा पनि क्रमशः सुधार आउनेछ । अध्ययनतर्फ पहिलेको नतिजा कमजोर आउन सक्छ, मिहिनेत गर्नुहोला । लगानीमा केही रकम बाहिरिए पनि नियमित आम्दानी हातलागी हुनेछ । केही नयाँ जिम्मेवारीसमेत प्राप्त हुने सम्भावना छ । तत्काल धेरै फाइदा नभए पनि पछिका लागि काम गर्न सकिनेछ ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मकर राशिलाई परिस्थिति अनुकूल नहुनाले भदौ महिना केही संघर्षमय रहनेछ । स्वास्थ्यमा पनि समस्या देखापर्नेछ । अधिक परिश्रमले थकान र कमजोरी निम्त्याउनेछ । अज्ञानता र बलजफ्ती गर्ने बानीले काम बिग्रनुका साथै अर्थहानि हुन सक्छ । परिस्थितिवश महत्त्वाकांक्षा त्यागी निर्वाहमूलक व्यवसाय गर्न बाध्य भइनेछ र सफलताको सिढी उक्लन समय लाग्नेछ । सामान्य व्यापार भए पनि फाइदा कममात्र हुनेछ । राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नाले जोस–जाँगरमा कमी आउनेछ । स्वास्थ्यका लागि आराम र खानपानमा विशेष ध्यान दिनुहोला । अरूको भरपर्दा धोका पाइनेछ र लाभांश पनि गुम्नेछ । काम गर्न नसकिए पनि पहिलेको उपलब्धि जोगाउन सजग रहनुहोला । लगनशील बन्दा अध्ययनमा भने लक्ष्य प्राप्त गर्न सकिनेछ ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
कुम्भ राशिलाई भदौ महिना केही उतारचढावमय रहनेछ । कर्ममा विश्वास गर्नेहरूलाई पनि केही विघ्नबाधा आइरहनेछन् । वादविवादले पारिवारिक माहोल अशान्त बन्न सक्छ । घरको समस्याले आर्थिक पक्ष प्रभावित बन्ने सम्भावना छ। किनमेल, यात्रा र भेटघाटले महिना केही खर्चिलो रहनेछ । अवसर आए पनि समय दिन नसक्दा पेसा–व्यवसाय कमजोर बन्नेछ । व्यापारतर्फ सुरक्षित आर्थिक कारोबारमा ध्यान दिनुहोला । सेयर तथा लगानीको मूल्यांकन कमजोर हुनाले लाभांश घट्न सक्छ । चोटपटक वा थकानले स्वास्थ्य कमजोर रहनेछ । नोकरी तथा व्यवसायमा पनि केही झमेला आउने सम्भावना छ । कुनै पनि जोखिमपूर्ण काममा अघि नसर्नुहोला । र अड्किएका कामतर्फ अधिक रकम खर्च नगर्नुहोला । मिहिनेत गर्दा अध्ययनमा उपलब्धि प्राप्त गर्न सकिनेछ ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मीन राशिलाई मिहिनेत गर्दा यो महिना विशेष उपलब्धिमूलक रहनेछ । स्रोत–साधन जुट्नुका साथै अनुकूल वातावरण बन्नाले आत्मविश्वास बढ्नेछ । शत्रुबाधा, मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । प्रतिस्पर्धाबाट भाग्योदय हुने समय छ । सानो प्रयत्नले महत्त्वाकांक्षी योजना, दिगो काम तथा नयाँ पेसा–व्यवसाय प्रारम्भ हुने समय छ । स्थापित पेसा–व्यवसायले नयाँ उचाइ तय गर्नेछ । पहिलेका प्रतिस्पर्धीहरू नै सहयोगी बन्नेछन् । अड्किएका काम पुनः प्रारम्भ हुनेछन् र उठ्नुपर्ने रकम प्राप्त हुनेछ । अरूका हातमा गएको धन र वस्तुसमेत फिर्ता हुनेछ । अर्थ उपार्जनका नयाँ स्रोत पनि फेला पर्नेेछन् । प्रयत्न गर्दा नयाँ काम, उद्योग वा व्यवसाय सुरु हुनेछ । मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ । थालेको काम सम्पादन हुनेछ ।




