काठमाडौं । राष्ट्रिय टोलीका लागि १२५ खेलमा ३२ गोल गर्नुभएको स्विस विंगर जेर्डन शाकिरीले सोमबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गर्नुभएको छ । उहाँ विश्वकप २०१० देखि युरोपियन च्याम्पियनसिप २०२४ सम्म सातवटा प्रमुख प्रतियोगिता खेल्ने एकमात्र स्विस खेलाडी हुनुहुन्छ । ३२ वर्षीय शाकिरीले युरोपियन च्याम्पियनसिपमा २०२४ मा दुई खेल खेल्नुभएको थियो ।
इंग्ल्याण्डसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि स्विस टोली क्वाटरफाइनलबाट बाहिरिएको थियो । ‘स्विस राष्ट्रिय टोलीसँग १४ वर्ष र अविष्मरणीय पलहरू, अन्तर्राष्ट्रिय करियरबाट विश्राम लिने यो नै उपयुक्त समय हो,’ शाकिरीले इन्स्टाग्राममा लेख्नुभएको छ, ‘अहिलेसम्म साथ र सहयोग गर्नुहुने सबैलाई धेरै धेरै धन्यवाद ।’ शाकिरीले सन् २०१० मा उरुग्वेविरुद्धको मैत्रीपूर्ण खेलमार्फत् सिनियर टोलीका लागि डेब्यु गर्नुभएको थियो । एजेन्सी




