काठमाडौं । न्युजिल्याण्डविरुद्धको टेस्ट शृंखलाअन्तर्गत पहिलो खेलमा घरेलु टोली श्रीलंका ६३ रनले विजयी भएको छ । श्रीलंकाले प्रस्तुत गरेको २७५ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड २११ रनमै समेटिएको हो । २०७/८ को स्थितिबाट पाँचौँ दिनको सुरुवात गरेको न्युजिल्याण्डले चार रन थप्दा बाँकी दुई विकेट गुमाएको हो ।
न्युजिल्याण्डका लागि रचिन रविन्द्रले १६८ बलमा ९ चौका र १ छक्काको मद्दतले सर्वाधिक ९२ रनको योगदान गर्नुभयो । यसैगरी केन विलियम्स र टम ब्ल्युनडेलले समान ३० र टम लाथमले २८ रन बनाउनुभयो ।
श्रीलंकाका लागि प्रभात जयसुरियाले पाँच, कुशल मेन्डिसले तीन तथा असिथ फर्नान्डो र कप्तान धनञ्जय डी सिल्भाले समान एक विकेट लिनुभयो । श्रीलंकाले दोस्रो इनिङमा ३०९ रन बनाएपछि न्युजिल्याण्डले २७५ रनको लक्ष्य प्राप्त गरेको थियो । श्रीलंकाका लागि दिले १२७ बलमा ६ चौकाको मद्दतले सर्वाधिक ८३ रनको योगदान गर्नुभयो ।
यसैगरी दिनेश चान्डिमलले ६०, एन्जेलो म्याथ्युजले ५०, धनञ्जय डी सिल्भाले ४०, कुशल मेन्डिसले २३, कामिन्दु मेन्डिसले १३ र प्रभात जयसुरियाले ११ रन बनाउनुभयो । त्यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले पहिला इनिङमा ३०५ रन बनाएको थियो । ३४० रनमा समेटिएपछि न्युजिल्याण्डले पहिलो इनिङमा ३५ रनको सामान्य अग्रता लिएको थियो । जितसँगै श्रीलंकाले दुई खेलको शृंखलामा १-० को अग्रता लिएको छ । दोस्रो तथा अन्तिम टेस्ट बिहीबारदेखि सुरु हुनेछ । (एजेन्सी)




