काठमाडौं । युरोपियन महिला च्याम्पियन्स लिगमा चेल्सीले रियल मड्रिडविरुद्ध रोमाञ्चक जित निकालेको छ । मंगलबार राती भएको खेलमा इंग्लिस क्लब चेल्सीले स्पेनिस ला लिगा क्लबलाई ३-२ ले पराजित गर्यो । चेल्सीको जितमा नुस्केन, गुरो राइटेन र रामिरेजले गोल गर्नुभयो । भ्रमणकारी टोली रियलका लागि अल्बा रेडोन्डो र काइसेडोले गोल गर्नुभयो ।
खेलसँगै पछिल्लोपटक सेमिफाइनल खेलेको चेल्सीले सानदार सुरुवात गरेको छ । पहिलो खेलमै टोलीले तीन अंक जोड्न सफल भयो । समूह ‘बी’ मा चेल्सी र ट्वेन्टीको समान तीन अंक छ । रियल र सेल्टिकले हारबाट प्रतियोगिता सुरु गरे ।
स्टामफोर्ड ब्रिजमा खेलको दोस्रो मिनेटमै चेल्सीले अग्रता बनायो । नुस्केनले हेडर गोल गर्नुभएको थियो । पेनाल्टीमा रेइटेनले गोल गर्दै अग्रता २-० को बनाउनुभयो । अल्बाले गोल गरेपछि खेल २-१ मा झरेको थियो ।
दोस्रो हाफमा थप दुई गोल भए । रामिरेजले ५३औँ मिनेटमा ३-१ को अग्रता बनाउनुभयो । रियलकी काइसेडोले ८३औँ मिनेटमा गोल गर्दै अग्रता घटाउने प्रयास गरे पनि सफल हुनुभएन । (एजेन्सी)




