काठमाडौं । युइएफए नेसन्स लिगमा फ्रान्स विजयी भएको छ । सोमबार राति भएको खेलमा फ्रान्सले बेल्जियममाथि २–१ गोल अन्तरले पराजित गरेको हो । फ्रान्सको जीतमा कोलो मुआनीले दुवै गोल गरेका थिए । बेल्जियमका लागि लोइस ओपेनडाले एक गोल फर्काए । पहिलो हाफमै दुवै टिमले एक एक पेनाल्टी पाएका थिए ।
खेलको २० औँ मिनेटपछि ओपेनडालाई सलिबाले गल्तीले लडाएपछि बेल्जियमका टिलेमान्सले पेनाल्टी अवसर पाएका थिए । तर उनले बललाई पोस्टमाथि प्रहार गरेपछि गोल हुन सकेन । त्यसको १५ मिनेटपछि फेसको ह्यान्डबलका कारण फ्रान्सले पेनाल्टी पायो । उक्त अवसरलाई कोलो मुआनीले सहजै गोलमा परिणत गरे ।
पहिलो हाफको इन्ज्युरी टाइममा बेल्जियम्का ओपेनडाले गोल गरेका थिए । उक्त गोललाई भारले मान्यता दिए पछि पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको थियो ।
खेलको ६० औँ मिनेटअघि नै कोनेले फ्रान्सको लागि गोल गरेका थिए । तर फउलका कारण उक्त गोल रद्द भयो । तर त्यसको तीन मिनेट पछि, कोलो मुआनीले डिग्नेले गरेको क्रसमा हेडर गोल गर्दै फ्रान्सलाई पुनः अग्रता दिलाए । पेरिस सेन्ट जर्मेन (पीएसजी) क्लबका लागि यो सिजन मुआनी धेरै खेलमा सुरुवाती खेलाडी नभए पनि फ्रान्सको लागि उनले पछिल्लो चार खेलमा चार गोल गरिसकेका छन् ।
टचौमेनीले दोस्रो पहेंलो कार्ड खाएपछि ७६ औं मिनेटमा फ्रान्स १० खेलाडीमा सिमित भयो । अन्तिम समयसम्म बेल्जियमका खेलाडीले धेरै अवसर खेर फाल्दा फ्रान्सले २–१ को जित निकालेको हो ।
खेलमा दुई गोल गरेका स्ट्राइकर रान्डल कोलो मुआनीको प्रशंसा गर्दै फ्रान्सका प्रशिक्षक डिडिएर डेस्च्याम्पले उनलाई ‘विशेष र आत्मविश्वासी खेलाडी’ को रूपमा वर्णन गरे । भने, ‘उनी उत्कृष्ट छन्, उनको खेलमा आत्मविश्वास छ। उनले बलसँग राम्रो रन बनाउँछन् र उत्कृष्ट हेडर पनि खेल्छन् । हाम्रो टोलीमा उनी प्रायः सफल हुन्छन् ।’
बेल्जियमले खेलको सुरुवाती २०–२५ मिनेटसम्म खेलमा दबाब बनाएको थियो, जहाँ यूरी टिलेमान्सले पेनाल्टी मिस गरे । डेस्च्याम्पले भने, “पहिलो २०–२५ मिनेट हामी दबाबमा थियौँ, तर जब हामीले आक्रमणमा सही समाधान खोज्यौँ, खेल हाम्रो पक्षमा आयो ।’
फ्रान्सका स्टार खेलाडी किलियन एमबाप्पे टोलीमा नरहे पनि फ्रान्सले अनुभवहीन खेलाडीहरूसँगै जित निकालेकोमा डेस्च्याम्प खुशी छन् । उनले थपे, ‘यो युवा टोली हो, जससँग धेरै अनुभव छैन। तर, उनीहरूको गम्भीरता र उत्साहले खेल जित्न मद्दत गर्यो ।’
समूहमा इटाली १० अंकसहित शीर्ष स्थानमा छ भने फ्रान्स ९ अंकसहित दोस्रो स्थानमा रहेको छ । बेल्जियम भने ४ अंकसहित तेस्रो स्थानमा छ । शीर्ष दुई टोलीले मार्चमा हुने क्वार्टरफाइनलमा स्थान बनाउनेछन् ।(एजेन्सी)




