काठमाडौं । घरेलु टोली भारतले इंग्ल्याण्डविरुद्ध टी-२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा दुई विकेटको रोमाञ्चक जित दर्ता गरेको छ । शनिबार राती चेन्नईस्थित एम चिदम्बरम क्रिकेट मैदानमा इंल्याण्डले दिएको १६६ रनको लक्ष्य भारतले चार बल बाँकी रहँदा आठ विकेट गुमाउँदै पूरा गर्यो । जितसँगै पाँच खेलको शृंखलामा भारत २-० ले अघि छ । भारतका लागि तिलक बर्माले ५५ बलमा ५ छक्का र ४ चौकाको मद्दतले अविजित ७२ रन बनाउनुभयो । बर्मालाई सानदार इनिङ्सका लागि प्लेयर अफ द म्याचको उपाधि पनि दिइएको थियो ।
वासिङ्टन सुन्दरले २६ तथा अभिषेक शर्मा र कप्तान सूर्यकुमार यादवले समान १२ रन बनाउनुभयो । इंग्ल्याण्डका लागि ब्रेडन कार्सेले तीन तथा जोफ्रा आर्चर, मार्क उड, आदिल रासिद, जिमी ओभरटन र लियम लिभिङस्टोनले समान एक विकेट लिनुभयो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रन बनाएको थियो । इंल्याण्डका लागि कप्तान जोस बट्लरले ४५, ब्रेडन कार्सेले ३१, जिमी स्मिथले २२, हृयारी ब्रुक र लियम लिभिङ्स्टोनले समान १३, जोफ्रा आर्चरले अविजित १२ र आदिल रासिदले १० रन बनाउनुभयो । भारतका लागि अक्षर पटेल र वरुण चक्रवर्तीले समान दुई तथा अर्शदीप सिंह, हार्दिक पाण्डेय, वासिङ्टन सुन्दर र अभिषेक शर्माले समान एक विकेट लिनुभयो । तेस्रो खेल मंगलबार हुनेछ ।
तिलकको अनौठो कीर्तिमान
तिलकले टी-२० अन्तर्राष्ट्रियमा अनौठो कीर्तिमान बनाउनुभएको छ । तिलक आउट नभई लगातार सर्वाधिक रन बनाउने खेलाडी बन्नुभएको हो । तिलक टी-२० अन्तर्राष्ट्रियमा पछिल्लो चार इनिङ्समा एकपटक पनि आउट हुनुभएको छैन । उहाँको पछिल्लो चार इनिङ्सको स्कोर नटआउट १०७, १२०, १९ र ७२ रन छ । यसरी उहाँले अहिलेसम्म आउट नभई ३१८ रन बनाउनुभएको छ । उहाँले न्युजिल्याण्डका मार्क च्यापम्यानको कीर्तिमान तोड्नुभएको छ । च्यापम्यानले चार इनिङ्समा नटआउट रहँदा २७१ रन बनाउनुभएको थियो । एजेन्सी ।




