काठमाडौं । अष्ट्रेलियाले श्रीलंकाविरुद्धको दोस्रो टेष्ट नौ विकेटले जितेको छ । अष्ट्रेलिया यो जितसँगै सिरिज दुई-शून्यले जित्न सफल भएको हो । अष्ट्रेलिया टिमले १३ वर्षपछि श्रीलंकामा टेष्ट सिरिज जितेको हो । यसअघि अष्ट्रेलियाले श्रीलंकामा २०११ मा जित हासिल गरेको थियो । त्यसपछि श्रीलंकामा भएका दुई सिरिजमा एक खेल श्रीलंकाले जितेको थियो भने अर्को एउटा बराबरी भएको थियो ।
अब यी दुई टिमबीच दुई खेलको एकदिवसीय शृंखला हुनेछ । शृंखलाको पहिलो खेल १२ फेब्रुअरीमा कोलम्बोमा हुनेछ । दोस्रो टेष्टमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली श्रीलंकाले पहिलो इनिङ्समा २५७ रन बनाउँदा कुशल मेन्डिसले अविजित ८५ रन र दिनेश चन्डिमलले ७४ रन बनाउनुभएको थियो ।
जवाफमा अष्ट्रेलियाले पहिलो इनिङ्समा स्टिभ स्मिथ र एलेक्स क्यारीको शतकीय योगदानमा ४१४ रन बनायो । कप्तान स्मिथले १३१ रन बनाउँदा क्यारीले १५६ रन बनाउनुभएको थियो ।
पहिलो इनिङ्समा १५७ रनको अग्रता बनाएको अष्ट्रेलियाविरुद्ध जवाफी इनिङ्स सुरु गरेको श्रीलंका दोस्रो इनिङ्समा २३१ रनमा अलआउट भएको थियो । उसका लागि एन्जेलो म्याथ्युजले ७६ रन तथा कुशल मेन्डिसले ५० रनको इनिङ्स खेल्नुबाहेक अन्य खेलाडीको प्रदर्शन गतिलो रहेन ।
समग्रमा दोस्रो इनिङ्समा ७५ रनको लक्ष्य पाएको अष्ट्रेलियाले उक्त लक्ष्य एक विकेट गुमाएर पूरा गर्दै सिरिज क्लिन स्विप गर्यो । अष्ट्रेलियाका लागि उस्मान ख्वाजा २७ र मार्नुस लबुसेन २६ रनमा अविजित रहँदा ट्रेभिस हेड २० रनमा आउट हुनुभयो ।(हिमालय टाइम्स)




