काठमाडौं । आफ्नो देशको राजधानी मस्कोमा लगातार दोस्रो रात युक्रेनले ड्रोन आक्रमण गरेको रुसले जनाएको छ । रुसको नागरिक उड्डयन प्राधिकरणका अनुसार, युक्रेनले ड्रोन आक्रमण गरेपछि मास्कोका चारै विमानस्थल रातभरि केही घण्टाका निम्ति बन्द गरिएको थियो ।
उक्त आक्रमणबाट कुनै हताहती भएको नभएको जनाइएको छ । मास्कोका मेयर सेर्गेई सोब्यानिनले कम से कम १९ युक्रेनी ड्रोन रुसी राजधानीतर्फ उड्दै गरेका बेला नष्ट गरिएको बताउनुभएको छ । रुस राज्य नियन्त्रित सञ्चारमाध्यमका अनुसार, देशभर रुसी वायु सुरक्षा इकाइले १०५ युक्रेनी ड्रोन नस्ट गरेको छ ।
पेन्जा र भोरोनेजजस्ता अरू ससी सहरका गभर्नरले उनीहरू पनि आक्रमणका लक्ष्य बनेको बताएका छन् । युक्रेनको यो आक्रमण रुसले घोषणा गरेको अस्थायी युद्धविराम लागु हुनुभन्दा दुई दिनअगाडि भएको हो । रुसले मे ८ देखि ११ सम्मका निम्ति यसअघि अस्थायी युद्धविराम घोषणा गरेका थियो ।(एजेन्सी)




