काठमाडौं । इंग्ल्याण्ड युइएफए महिला युरो २०२५ को सेमिफाइनलमा पुगेको गरेको छ । स्विडेनसँग २-० ले पछि परेको खेल उल्टाएर पेनाल्टी सुट आउटमा ३-२ को जित निकाल्दै इंग्ल्याण्ड अन्तिम चारमा पुगेको हो । लुसी ब्रोन्जले इंग्ल्याण्डको लागि सातौं पेनाल्टीमा गोल गर्दै टोलीलाई अन्तिम चारमा पुर्याउनुभएको हो । स्विडेनकी स्मिल्ला होल्मबर्गले आफ्नो प्रयास बारमाथि प्रहार गरेपछि पेनाल्टी सुटआउट टुंगिएको थियो ।
स्विडेनले सात पेनाल्टीमध्ये केबल दुई गोल गर्न सक्यो । इंग्ल्याण्डकी गोलकिपर हाना हृयाम्प्टनले दुई पेनाल्टी रोक्न सफल हुनुभयो । स्विडिस गोलकिपर जेन्निफर फाल्कले चार पेनाल्टी बचाउनुभयो । तर, फाल्क आफैं भने पेनाल्टीमा गोल गर्न चुक्नुभयो । ज्युरिचमा भएको खेलमा अन्तिम ११ मिनेट बाँकी रहँदा खेलमा बराबरी गर्दै इंग्ल्याण्डले जितको आधार तयार पारेको थियो ।
कप्तान कोसोभारे अस्लानी दोस्रो र फरवार्ड स्टिना ब्ल्याकस्टेनियसले २५औं मिनेटमा गोल गर्दै स्विडेन २-० ले अघि बढाउनुभएको थियो । इंग्ल्याण्डले त्यो समयसम्म खासै अवसर सिर्जना गर्न सकेको थिएन । ७९औं मिनेटमा क्लोई केलीको क्रसमा ब्रोन्जले हेडमार्फत् गोल फर्काउनुभयो । त्यसको दुई मिनेटपछि परिवर्तित खेलाडी मिशेल अगेमाङले नजिकैबाट बराबरी गोल गर्नुभयो । (एजेन्सी)




