काठमाडौं । बंगलादेशले एशिया कपको तयारी जितसँगै सुरु गरेको छ। सिल्हेटमा शनिवार भएको पहिलो टि ट्वान्टी आईमा घरेलु टोलीले नेदरल्याण्ड्सलाई ८ विकेटले हरायो।
१३.३ ओभरमै १ सय ३७ रनको लक्ष्य पूरा गर्दै बंगलादेशले ३९ बल बाँकी रहँदा जित निकालेको हो। जुन पछिल्लो १० वर्षमा घरमै भएको सबैभन्दा ठूलो जित (बल बाँकी राखेर) हो।
यसअघि सन् २०१४ टि ट्वान्टी विश्वकपमा अफगानिस्तानलाई ४८ बल बाँकी रहँदा हराएको थियो।
बंगलादेशको जितमा कप्तान लिटन दास र बलर तास्किन अहमद चम्किए।
टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्सलाई तास्किनले सुरुमा दबाबमा राखे । उनले म्याक्स ओ’डाउड, विक्रमजित सिंह, नोआ क्रोस र काइल क्लाइनलाई आउट गर्दै २८ रन खर्चेर ४ विकेट लिए । मुस्ताफिजुर रहमानले ४ ओभरमा १९ मात्र रन दिएर १ विकेट लिए । सैफ हसनले २ विकेट झारे।
नेदरल्याण्ड्सका तेजा निडामानुरु २६ र एरियन दत्त ८ बलमा १३ रनमा अविजित रहे पनि टोलीले ८ विकेटको नोक्सानीमा १ सय ३६ रन मात्र बनाउन सक्यो।
लक्ष्य पछ्याउँदा बंगलादेशले सहज जित हात पार्यो।
कप्तान लिटन दासले २९ बलमा ६ चौका र २ छक्कासहित अविजित ५४ रन बनाए । तन्जिद हसन तामिमले २९ रन जोडे ।
अन्त्यतिर सैफ हसनले १९ बलमा ३६ अविजित रन प्रहार गर्दै जित पक्का गरे। लिटन र सैफबीच २३ बलमै ४६ रनको अविजित साझेदारी भयो।
नेदरल्याण्ड्सका एरियन दत्त र टिम प्रिङ्गलले १-१ विकेट लिए । ३ टि ट्वान्टी आई सिरिजमा बंगलादेशले १-० ले अग्रता बनाएको छ।(एजेन्सी)




