काठमाडौं । पछिल्लो ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपणपछि अमेरिकालगायत दक्षिण कोरियाले आलोचना गरेपछि उत्तर कोरियाले शनिबार थप ‘आक्रामक कारबाही’ गर्ने चेतावनी दिएको छ । शुक्रबार गरिएको उक्त मिसाइल परीक्षण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पूर्वी एसियाली भ्रमणको बीचमा भएको हो ।
राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग भेट गर्ने इच्छा व्यक्त गरेको एक हप्तापछि प्योङयाङले यो कदम चालेको हो । यद्यपि, उत्तर कोरियाले उक्त प्रस्तावमा हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन । प्योङयाङका रक्षामन्त्री नो क्वाङ चोलले वासिंटन ‘उत्तर कोरियाको सुरक्षालाई गम्भीर जोखिममा पार्ने सैन्य गतिविधिमा निर्लज्जरूपमा संलग्न भएको’ आरोप लगाउँदै अमेरिकी र दक्षिण कोरियाली कदमले ‘जानाजानी क्षेत्रीय राजनीतिक र सैन्य तनावलाई बढाइरहेको’ बताउनुभयो ।
कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसिएनए) ले उहाँको भनाइ उद्धृत गर्दै लेखेको छ, ‘हामी शत्रुको निरन्तर खतराविरुद्ध अझ आक्रामक कारबाहीका कदम देखाउने छौं ।’ यसअघि, अमेरिकी रक्षामन्त्री पिट हेग्सेथ र उहाँका दक्षिण कोरियाली समकक्षले डिमिलिटाराइज्ड जोन (डिएमजेड) को संयुक्त भ्रमण गर्नु भएको थियो ।
त्यहाँ दुवै नेताले आफ्नो देशबीचको ‘बलियो संयुक्त रक्षा प्रतिबद्धता र घनिष्ठ सहयोग’ पुनः पुष्टि गर्नु भएको थियो । यसैबिच दक्षिण कोरियाली नौ सेनाका अनुसार अमेरिकी आणविक-सञ्चालित विमानवाहक युएसएस जर्ज वासिंटन बुधबार बुसान बन्दरगाहमा रसद सहयोग र चालकदलका सदस्यको विश्रामका लागि पुगेको थियो ।
प्योङयाङका अधिकारीहरूले यस कदमलाई ‘कोरियाली प्रायद्वीपमा तनाव थप बढाउने कार्य’ भएको भन्दै आपत्ति जनाएका छन् । रक्षामन्त्री हेग्सेथको डिएमजेड भ्रमणसमेतलाई प्योङयाङले ‘युद्ध उन्मादलाई प्रोत्साहन दिने कदम’ का रूपमा लिएको छ । अमेरिकी इण्डो-प्यासिफिक कमान्डले भने शुक्रबारको क्षेप्यास्त्र प्रक्षेपणबारे प्रतिक्रिया जनाउँदै प्योङयाङको कार्यले ‘क्षेत्रीय स्थिरतामा गम्भीर असर पार्ने’ उल्लेख गरेको छ ।
वक्तव्यमा भनिएको छ, ‘संयुक्त राज्य अमेरिका आफ्ना सहयोगी र साझेदार राष्ट्रसँग नजिकको परामर्शमा छ र सुरक्षा प्रतिबद्धता अटल छ ।’ दक्षिण कोरियाली सेनालेसमेत प्योङयाङको पछिल्लो क्षेप्यास्त्र प्रक्षेपणको कडा निन्दा गर्दै ‘दुई कोरियाबीचको तनाव बढाउने सबै कार्य तुरुन्तै रोक्न’ आग्रह गरेको छ ।
गतहप्तामात्रै राष्ट्रपति ट्रम्पले दक्षिण कोरियालाई आणविक पनडुब्बी निर्माण गर्ने योजनामा स्वीकृति प्रदान गरेको घोषणा गर्नु भएको थियो । विश्लेषकका अनुसार यस्तो परियोजनाले दक्षिण कोरियाको नौसेना क्षमतामा ऐतिहासिक प्रगति ल्याउनेछ र यसलाई आणविक जहाज भएका सीमित राष्ट्रको सूचीमा पुर्याउनेछ । तर उनीहरूका भनाइमा यो कदमले उत्तर कोरियाबाट कठोर र आक्रामक प्रतिक्रिया आउने सम्भावना पनि उस्तै रूपमा बढाएको छ ।
यसैबीच, दक्षिण कोरियाली सांसदले यसै हप्ताको सुरुमा जानकारी गराएअनुसार देशको रक्षा गुप्तचर एजेन्सीले उत्तर कोरियाली नेता किम जोङ उनले निर्णय गरेमा प्योङयाङ आफ्नो सातौं आणविक परीक्षण गर्न ‘पूर्णरूपमा तयार अवस्थामा रहेको’ बताएको छ ।
अमेरिकी एयरलाइन्सको एक हजार उडान रद्द
उता, अमेरिकी सङ्घीय सरकारको बन्द (शटडाउन) का कारण जारी आर्थिक सङ्कटबीच देशभरका एयरलाइन्सहरूले शुक्रबार करिब एक हजार उडान रद्द गरेका छन् । यद्यपि अधिकांश तालिकाहरू सामान्य रहे पनि यात्रुहरू अझै पनि असहज अवस्थामा परेका छन् ।
सङ्घीय उड्डयन प्रशासन (एफएए) ले हवाई यातायात नियन्त्रकहरूमा अत्यधिक कार्यभार र तलब नपाएका कारण उत्पन्न तनाव कम गर्न व्यस्त विमानस्थलहरूमा सेवा घटाउने आदेश जारी गरेको छ । यसका कारण एटलान्टा, डलास, डेनभर, शार्लोटलगायत देशका प्रमुख विमानस्थलहरूमा लामो सुरक्षा लाइन र अन्तिम क्षणका उडान रद्दहरू देखिएका छन् ।
एफएएको आदेशअनुसार हाल करिब चार प्रतिशत उडानहरू कटौती गरिएका छन् । यसको दर आगामी सातामा १० प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ । यातायातमन्त्री सिन डफीका अनुसार यदि सरकारी बन्द लामो समयसम्म रह्यो भने यो दर १५ देखि २० प्रतिशतसम्म बढ्न सक्ने सम्भावना छ ।(एएफपी)




